मोबाइल पसलबाट ५ लाख असुल्ने ३ प्रहरीसहित ५ जना पक्राउ

काठमाडौं । व्यापारीलाई धक्काएर पाँच लाख असुलेको आरोपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका दुई सहायक हवल्दार, एक जना सशस्त्र प्रहरीका जवान र अरू दुई जनामा आफूलाई पत्रकार भनेर चिनाउने एक व्यवसायी र अर्को भ्रष्टाचार विरोधी अभियन्ता रहेका छन् ।

उनीहरुलाई कोहलपुर नगरपालिका–११ पुरानो बसपार्कस्थित थ्रिस्टार मोबाइल पसलका सञ्चालक लक्ष्मण कुँवरको जाहेरीका आधारमा पक्राउ गरिएको बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिए ।

जेठ २८ गते दिउँसो पाँच जनाले आफुहरु राजस्वको कर्मचारी बताउँदै पाँच लाख नदिए फसाइदिने भन्दै डर–धम्की दिएको कुँवरले जाहेरीमा उल्लेख गरेका छन् । फसाइदिने भयपछि आफूले पाँच लाख रूपैयाँ उनीहरूलाई दिएको समेत उनले जाहेरीमा बताएका छन् ।

कोहलपुरकी डिएसपी खनालका अनुसार पक्राउ परेका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कुर्मी, सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, लगोविन्द भण्डारी र सूर्यप्रसाद रिजालविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत बाँकेले पाँचै जनालाई घटना अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । एक जना पप्पु भन्ने गाडी चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।