एमालेको दोहोरो चरित्रः प्रतिपक्षमा हुँदा वृद्धभत्ता बढाउँछौं भन्दै भोट माग्ने,सत्तामा रहँदा कर्मचारीलाई मात्र देख्ने
रुषा थापा
२०७४ सालमा मुलुकमा पहिलो पटक स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको घोषणा भयो । त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै थिए । तत्कालिन सरकारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमाले विपक्षमा थियो। चुनावको मिति घोषणा भएपछि राजनीतिक दलहरुको घरदैलो कार्यक्रम शुरु भयो ।
सबैको आआफ्ना एजेण्डा थिए । सोही क्रममा एमालेले भोट माग्दा आफ्नो सरकार आएमा बुढाबुढीको भत्ता पाँच हजार रुपैयाँ पुर्याइदिने आश्वासन देखायो । त्यसअघि तीन हजार रुपैयाँ भत्ता पाइन्थ्यो । पाँच हजार रुपैयाँ भत्ता पुग्ने आश्वासनमा जनताले तीनै तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाए । अहिले ०८२ साल हो । एमालेले जनतालाई यो आश्वासन दिएको आठ वर्ष बितेको छ ।
०७९–०८० को बजेट ल्याउँदा प्रधानमन्त्री देउवा थिए । अर्थमन्त्री माओवादीका जनार्दन शर्मा थिए । देउवाले बजेटमार्फत वृद्धभत्ता प्राप्तिको उमेर घटाइदिए । त्यसअघि जन्मिएको मितिले ७० वर्ष पुगेपछि मात्र भत्ता पाइनेमा ०७९ सालदेखि ६८ वर्षमै भत्ता पाइने व्यवस्था लागू गरियो । यसबााट लाखौं जनता लाभान्वित भए ।
वर्तमान सरकारमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री छन् । अर्थमन्त्री एमालेकै उपाध्यक्ष विष्णुप्रसाद पौडेल छन् । आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट गत जेठ १५ गते सरकारले ल्याइसकेको छ । बजेटमार्फत हाल ६८ वर्षमा पाइरहेको भत्तालाई ७० वर्ष पुगेपछि मात्र पाउने व्यवस्था गरिएको छ । वृदभत्ता रकम बढाइएन ।
तर, कर्मचारीको महँगी भत्ता चाँहि बढाइयो । यसअघि मासिक दुई हजार रहेको महँगी भत्ता तीन हजार बढाएर पाँच हजार रुपैयाँ पुर्याइएको छ। यता, बागमती प्रदेश सरकारले त महँगी भत्ता सिधैं पाँच हजार रुपैयाँ बढाइदिएको छ । यसरी कर्मचारीको सेवासुविधा बढाउने संघ, प्रदेशले बुढीबुढीको भत्ता बढाउन भने चासो दिएनन् ।
पहिला एमालेका नेतादेखि कार्यकर्तासम्म भन्थे, ‘बुढाबुढीलाई हामीले भत्ता दिएका हौं । हामीलाई नै भोट दिनुपर्छ ।’ अहिले एमालेकै सरकार छ। अनि कर्मचारीको भत्ता एकै चोटि तीन हजार बढाउँदा बुढाबुढीको किन बढाइएन ? अब जनताले बुझ्नुपर्छ कि हामीलाई एमालेले भत्ता दिएको होइन, जनताले तिरेको कर र देश धितो राखेर विदेशीसँग लिएको ऋणबाट दिइएको हो ।
एमालेको यो राजनीतिक सेतै फुलेका, दाँत झरिसकेका वा जीवन देखेका बुढाबुढीले बुझ्न सकेनन् । नेपाल सरकारले विदेशीसँग २७ खर्ब पाँच अर्ब १७ करोड रुपैयाँ ऋण लिइसकेको छ । मुलुकको धेरै भूभाग छिमेकी भारत र चीनलाई बेचिसक्यो । अहिले पनि हाम्रो भूभाग मिच्ने क्रम जारी छ । तैपनि सरकार चुपचाप देखिन्छ ।
राज्यको ढुकृटीमा राजस्व उठ्न छोडेको छ । जनताले मेरो यति अर्बको घरजग्गा, गाडी र सेयर छ भन्दै धाक देखाए । उनीहरुले बिर्सिए कि विगतमा त्यही घरजग्गा, गाडी र सेयरको मूल्य कति थियो । एकछिन बढाइएको कृत्रिम मूल्य देखेर उनीहरुले धमाधम लगानी गरे । अहिले त्यसकै परिमाण भोग्दै छन् । बैंकबाट ऋण लिईलिई यस्ता विलासित वस्तुमा लगानी गर्नेहरु नराम्ररी डुबेका छन् ।
एकातिर धितोको मूल्य दिनप्रति दिन घट्दो छ, अर्कोतर्फ बैंकको साँवाब्याज बढिरहेको छ । घरजग्गा, गाडी र सेयरको मूल्य जतिसुकै बढेपनि यो विलासिता हो । यसमा लगानी गर्नुको कुनै अर्थ छैन । किनकि योबाट न व्यक्तिलाई फाइदा हुन्छ न त राज्यलाई । दलालीलाई मात्र फाइदा पुग्छ । ०४६ सालअघि नेपालको भूभाग धेरै थियो ।
तिब्बत, दार्जेलिङ, सिकिम, टकनपुर, कालापानी, लिपुलेक, लिम्पियाधुरा, कलकोत्तासमेत नेपालकै भएको बताइन्छ । तर, अहिले यी भूभाग भारत र चीनको कब्जामा छ । सरकार यो भूभाग फिर्ता ल्याउन पहलसमेत गर्दैन । हुन त आफ्नै आँगनको जग्गासमेत सरकारले बचाउन सकेन । मुलुकको सबैभन्दा ठूलो प्रशासनिक निकाय हो, सिंहदरबार ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सिंहदरबार बसेर काम गर्छन् । यद्यपि, सिंहदरबारको जग्गा व्यक्तिको नाममा गएकोबारे सरकार अन्जान हो कि थाहा पाएर पनि अनदेखा गरेको हो ? सरकार आफैंलाई थाहा होला । ०४६ सालअघि सिंहदरबार पछाडिका हाल बाटो खुलेर घर तथा विभिन्न संरचना बनेका जग्गा सरकारको थियो । त्यो जग्गामा घोडा पाल्ने तत्कालिन सरकारको योजना थियो ।
तर, ०४७ सालमा बाटो खोल्नासाथ सिंहदरबार पछाडिका सबै सरकारी जग्गा कब्जा भयो । ती जग्गामा अहिले घर तथा ठूल्ठूला संरचना बनेका छन् । जसले सिंहदरबारकै अस्तित्वलाई समेत धरापमा पारेको छ । किनकि सिंहदरबारभन्दा अग्ला घर त्यहाँ बनेको पाइन्छ । यता, भक्तपुरको सल्लाघारीस्थित आर्मी ब्यारेक, दुवाकोट तथा सिर्जनानगरको जग्गा पनि पहिले सरकारी, ऐलानी नै थियो ।
अहिले यी जग्गामा घर तथा संरचना बनिरहेका छन् । देशभरका सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गा व्यक्तिको नाममा लगिएको छ । ललिता निवासदेखि बाँसबारी, झापा, काभ्रे, टिकापुरलगायत अधिकांश जिल्लाको सयौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगियो । यद्यपि, ललिता निवास र बाँसबारीको जग्गा भने पुनः सरकारकै स्वामित्वमा आउने भएको छ ।
बाँकी व्यक्तिको नाममा लगिएका जग्गा पनि सरकारकै नाममा आउनुपर्छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारी, कानून व्यवसायी र दलालीहरुको मिलेमतोमा देशभरका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, ताल पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता गराइयो । यतिले मात्र नपुगेर देशै धितो राखेर विदेशीसँग खर्बौ ऋण लिएका छन् ।
जनताको टाउकोमा लाखौं ऋण बोकाएका छन् । जनताले तिरेको कर, विदेशबाट पठाएको रेमिट्यान्स त खोई कहाँ गयो ? विकासमा खर्चिएको हो भनौं भने गाउँमा अझै राम्रो विद्यालय र पुल बनेको छैन । अनि होइन भनौं भने त्यो पैसा गयो चाँहि कहाँ ? राजनीतिक दलहरुले राष्ट्र, राष्ट्रियताको ठूल्ठूला कुरा गरेर देश र जनता नै बेचे ।
सबै पार्टीको चिन्ह फरकफरक भएपनि उद्देश्य एउटै थियो, लुट्ने र ठग्ने । आखिर त्यसका लागि देशै किन धरापमा पार्नु परोस् । दलहरुले झुटा भाषण गरेर जनतालाई भ्रमित बनाइरहे र जनता पनि विश्वासमा परिरहे । आँखा चिम्लेर विश्वासमा पर्दा अहिले देशै संकटमा परेको छ । त्यसैले, अब चाँहि जनताको आँखा खुल्न आवश्यक भएको छ ।
०४६ सालअघि मुलुक आत्मनिर्भर थियो । नेपाल विदेशीलाई खाद्यान्न अनुदान दिन्थ्यो । नेपालीहरु विदेशमा काम गर्न जादैँन्थे । न त मुलुकको भूभाग छिमेकीले कब्जा गरेको थियो न त देशमाथि ऋण नै थियो । अहिले देश कुन अवस्थामा छ ? भनिरहन आवश्यक छैन । हामीसामु सबै छर्लङ्ग छ । नेताहरुले देश विकास गर्छु भन्दै देश नै सिध्याए ।
