सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने: गृहमन्त्री लेखक

फाइल तस्वीर

काठमाडौं । सरकारले लागु औषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने भएको छ। बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले उक्त कुरा बताएका हुन्।

उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए। लागु औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री लेखकले त्यसका लागि मन्त्रालयअन्तर्गत नै विभाग गठन गरिने बताएका हुन्।

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा बिशेष ध्यान दिनुपर्ने उनको भनाई थियो।

देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोश्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्धाका कैदी रहेको भन्दै उनले लागू औषध नियन्त्रणमा अझै पनि चूनौति देखिएको धारणा राखे।

लागुऔषधसेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको उनले बताए। ‘मुख्य विषय भनेको यसको रोकथाम हो। जनचेतना महत्वपूर्ण विषय हो। लागुऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ।’ लेखकले भने, लागुऔषध नियन्त्रणकालागि समाज,घर,टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।

लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।‘एक लाख ३४ हजार जना लागुऔषध सेवन कर्ता रहेको तथ्याङ्क छ। समाज नराम्रोसित प्रभावित हुदैछ।उनले भने,मुलुकभरका कारगाराका कैदीबन्दीहरुमध्ये दोस्रो ठूलो संख्यामा लागुऔषध दुर्व्यसन,ओसारपसार,भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।

त्यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सबै यसका विरुद्ध एकजुट लाग्नुपर्ने बताए। उनले लागुऔषधका कारण शान्तिसुरक्षामा प्रतिकुल प्रभाव पर्ने भएकाले यसका विरुद्ध सामूहिक प्रतिवद्धता आजको आवश्यकता रहेको धारणा राखे। उनले बिहीबार मात्रै वीरगञ्जबाट झण्डै साढे तीन सय क्वीन्टल चरेश बरामद गरिएको र केहीलाई नियन्त्रणमा लिएको जानकारी दिए।

स्वस्थ,सभ्य र सुरक्षित समाजको प्रतिबद्धता स् लागुऔषध दुरुपयोगविरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो। हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ।