महाकाली सन्धिको धेरै विरोध भए पनि अहिले सबै राजनीतिक दल एक ठाउँमा छौं: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिका वेला देश बेचे, नदी बेचे‚ खाए भनिनु पाखण्ड भएको बताएका छन्।
शनिवार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले महाकाली सन्धिको धेरै विरोध भए पनि अहिले सबै राजनीतिक दलहरू महाकाली सन्धि कार्यान्वयनको पक्षमा रहेको बताए।
निकट भविष्यमै महकाली सन्धि सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताए। चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताए।
प्रधानमन्त्री ओलीले भने,राष्ट्रवादको झण्डा देखाएर महाकाली, महाकाली भन्दै कुद्ने स्थिति भयो। नक्कली, आडम्बरी, पाखण्डी कुरा थियो। महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ।
अहिले कार्यान्वयनको पक्षमा सबै छन्। म पनि छु। सम्भव भएसम्म हामी निकट भविष्यमा महाकाली सन्धि सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्दै छौँ। यो गर्नैपर्ने चिज छ। त्यो वेला देश बेचे, मासे, खाए, नदी बेचे भने। कुनै नदी खोला बेचेका थिएनन्।
प्रधानमन्त्री ओलीले नेकपा एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधीनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताए।
