सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा परियारलाई अदालतमा उपस्थित गराइएको थिएन। उनी बुधवार अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस भएको थियो ।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक थिए, तर भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन्।
यसैगरी, महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
निर्देशकद्वय वसन्त आचार्य र नमराज ढकाललाई पनि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अख्तियारले कल्पवृक्ष(कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिसहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी गरेको दाबी गरेको छ। प्रतिवादीहरूले पदको दुरुपयोग गरी काठमाडौँ महानगरपालिकाको सम्पत्तिमा बदनियतपूर्वक हानि पुर्याएको अख्तियारको ठहर छ।
