गगन थापाको राजनीतिक भविष्य अन्योलमा,देउवा र शेखरको विवाद कांग्रेसभित्र उग्रबन्दै
-रनसुर महतारा (रमेश)
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको राजनीतिक करियरमा अप्रत्याशित मोड आएको छ। पार्टी र सत्ता राजनीति दुवैमा चतुर रणनीतिकारका रूपमा चिनिने थापा यतिबेला आफ्नै पार्टीको उच्चस्तरीय राजनीतिक संयन्त्रबाट बेवास्तामा परेका छन्।
सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने महत्वाकांक्षाले उनलाई राजनीतिक गलत गणनामा पुर्याएको देखिन्छ। सरकारलाई निरन्तर काँध हालेर आफ्नो भविष्यका लागि आधार तयार पारेका थापाले आरजु राणालाई मन्त्रीका रूपमा स्वीकार्न समेत तयारी देखाएका थिए। तर, यही रणनीतिले उनलाई प्रधानमन्त्रीको कारणले संयन्त्रको पेलानमा पुर्याएको छ।
पछिल्लो समय गगन थापाको बोलीमाथि नै प्रश्न उठेको छ। उनका भनाइहरूलाई पार्टीका वरिष्ठ नेताहरूले गम्भीरतापूर्वक लिइरहेका छैनन्। यसले उनको नेतृत्वक्षमतामाथि प्रश्न खडा गरेको छ।
थापाको वर्तमान स्थिति अत्यन्तै नाजुक छ। एकातिर उनले आफ्नो राजनीतिक महत्वाकांक्षाका लागि सरकारलाई निरन्तर सहयोग गरिरहेका छन्, अर्कोतिर पार्टीको आन्तरिक राजनीतिमा उनको प्रभाव घट्दै गएको छ।
परिस्थितिले थापालाई संयन्त्र बहिष्कार गर्नुपर्ने अवस्थामा पुर्याएको छ। यदि उनले यो निर्णय गरे भने उनको राजनीतिक भविष्यमा गम्भीर प्रभाव पर्नेछ। एकातिर पार्टीभित्र अलगिने जोखिम छ भने अर्कोतिर सरकारी गठबन्धनमा फाइदा उठाउन नसक्ने स्थिति छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूका अनुसार थापाको यो अवस्थाले पार्टीभित्रको शक्ति संतुलनमा परिवर्तन आउन सक्छ। देउवाको उत्तराधिकारीको दौडमा अन्य दाबेदारहरूले फाइदा उठाउन सक्ने सम्भावना बढेको छ।
आगामी दिनहरूमा गगन थापाले कस्तो राजनीतिक रणनीति अपनाउछन् भन्ने कुराले नेपाली कांग्रेसको भविष्यको दिशा निर्धारण गर्नेछ। उनको निर्णयले पार्टीको एकताका साथै देशको राजनीतिक स्थिरतामा समेत प्रभाव पार्न सक्छ।
त्यस्तै देश अत्यन्त अप्ठ्यारो राजनीतिक मोडमा पुग्दा नेपाली कांग्रेसभित्रको आन्तरिक संघर्षले नयाँ मोड लिएको छ। अनुशासन समितिको कारबाहीप्रति डा.शेखर कोइराला समूह रुष्ट बनेपछि इतर समूहले नयाँ रणनीति बनाउन आकस्मिक भेला डाकेको थियाे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.शेखर कोइरालाले देशले अत्यन्त अप्ठ्यारो परिस्थितिमा पुगेको र यस्तो समयमा सत्ताको चाबी कांग्रेसले बोक्नुपर्ने बताएका छन्। सत्ताको चाबी हामीसित छैन। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ?चाबी खोल्नुपर्यो नि त! उनले भनेका छन्।
संस्थापन पक्षले बहुमतको आधारमा आफ्नो समूहका नेतालाई मात्रै कारबाही गरेको भन्दै इतर समूह प्रतिवाद गर्ने बैठकबाट निर्णय गरेकाे छ। कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एकपटक सतहमा आएको छ। यस स्थितिमा शेखर कोइराला पक्षले नयाँ रणनीति बनाउदै आकस्मिक बैठक राखेकाे थियाे।
डा.शेखर कोइरालाले कांग्रेसको वैचारिक धार भुत्ते हुँदै गएको टिप्पणी गरेका छन्। उनले पार्टीभित्र अनुशासनहीनता, सत्ता साझेदारीमा कांग्रेसको कमजोरी, गठबन्धनको निर्णयप्रति असन्तुष्टि र भ्रातृ संगठनको अस्तव्यस्ततालगायत गम्भीर विषयहरूमा प्रश्न उठाएका हुन्।
नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको विवाद फेरि चर्किएको छ। यस्तो स्थितिमा देशको राजनीतिक स्थिरता र शासन प्रणालीमा नयाँ अनिश्चितता उत्पन्न भएको छ।
