धनगढीमा भीषण आगलागी,आठवटा सटर जलेर नष्ट

सांकेतिक तस्वीर

काठमाडौं। कैलालीको धनगढीस्थित एक कम्प्लेक्समा गएराति भीषण आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीको परिवर्तन इम्पेक्समा आगलागी भएको हो।

राति करिब ११ बजेको समयमा विद्युत् ‘सट हुँदा भएको आगलागीमा स्थानीय विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेष्टुरेण्टका आठवटा सटरमा क्षति पुगेको छ। करिब दुई घण्टापछि मात्र आगलागी पूर्ण नियन्त्रणमा आएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

आगलागीबाट हेलेन ट्रेडको सटरमा रहेका लुगा कपडासहितका सामान जलेर नष्ट भएका छन्। अरु पसलमा भने आंशिकरूपमा क्षति पुगेको छ। लाखौँको क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सिंहले बताए।