राजनीतिक रणनीति बनाउदै शेखर: देउवा-ओली समीकरण परिवर्तन गर्ने खेलमा
रनसुर महतारा (रमेश)
नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले हालका दिनहरूमा देखाएको राजनीतिक सक्रियताले नेपाली राजनीतिमा नयाँ आयाम थपेको छ। आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध निरन्तर आलोचना गर्दै आएका शेखरले अब विपक्षी दलका नेताहरूसँग प्रत्यक्ष संवाद र भेटघाटको सिलसिला सुरु गरेका छन्, जसले राजनीतिक दलहरूको ध्यान आकर्षित गरेको छ।
विगत केही दिनयताका घटनाक्रमले शेखरको राजनीतिक रणनीतिमा स्पष्ट परिवर्तन देखाएको छ। विहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटले उनको राजनीतिक चालबाजीलाई अझ स्पष्ट पारेको छ। यी भेटघाटहरू सामान्य शिष्टाचारका भेट मात्र नभएर राजनीतिक उद्देश्यका साथ हेरिएकाे छ।
शेखर कोइरालाको यो नयाँ रणनीति मुख्यतः वर्तमान सरकारको कार्यसम्पादनप्रतिको गहिरो असन्तुष्टिबाट उत्पन्न भएको देखिन्छ। कांग्रेस-एमाले गठबन्धनको दुई तिहाइँको बलियो सरकार भएर पनि भ्रष्टाचार नियन्त्रणमा असफल रहनु, ७ बुँदे समझदारी कार्यान्वयन नहुनु र एकपछि अर्को मन्त्रीहरू भ्रष्टाचारका प्रकरणमा मुछिनुले शेखरको असन्तुष्टिलाई चरम बिन्दुमा पुर्याएको छ।
शेखरको यो चालबाजीलाई तीन कोणबाट हेर्ने सकिन्छ। पहिलो, यो यता भेट्ने, उता तर्साउने,रणनीतिक दबावको अस्त्र हो जसको माध्यमबाट उनले आफ्नै पार्टीको नेतृत्व र सरकारमाथि दबाब सिर्जना गर्न खोजेका छन्। दोस्रो, यो सत्ता समीकरण परिवर्तनको पूर्वतयारी हो जहाँ उनले ओली-देउवाको विकल्प खोज्दै नयाँ राजनीतिक गठबन्धनको आधारशिला राख्न खोजेका छन्। तेस्रो, यो उनको व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षाको अभिव्यक्ति हो जसअन्तर्गत आगामी कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व हासिल गर्ने उनको योजना छ।
प्रचण्डसँगको भेटलाई विशेष अर्थमा लिइएको छ किनभने प्रचण्डले पनि वर्तमान सरकारलाई भ्रष्टाचार संरक्षक को संज्ञा दिदै निरन्तर आक्रमण गरिरहेका छन्। दुवै नेताहरूबीचको यो साम्य र सरकारविरुद्धको साझा असन्तुष्टिले तिनीहरूबीच रणनीतिक सहकार्यको आधार तयार गरेको देखिन्छ।
विद्यादेवी भण्डारीसँगको भेट अझै महत्त्वपूर्ण छ किनभने उनी एमालेकी नेत्री भएर पनि केपी शर्मा ओलीको स्थानमा वैकल्पिक नेतृत्वको रूपमा उदाइँदै छिन्। ओली र देउवा दुवैजना आफ्ना उमेर र राजनीतिक थकानका कारण बिस्तारै किनाराकृत हुँदै गएको अवस्थामा शेखरले विद्यालाई भेटेर नयाँ पुस्ताको नेतृत्वको संकेत दिएका छन्।
तथापि, शेखरको यो रणनीतिका चुनौतीहरू पनि कम छैनन्। पहिलो, उनको आफ्नै पार्टीभित्रको स्थिति बलियो छैन र पार्टी नेतृत्व उनप्रति शंकास्पद छ। दोस्रो, विपक्षी दलहरूसँगको सहकार्यले उनलाई आफ्नै पार्टीमा विश्वासघाती ठहराउने जोखिम छ। तेस्रो, वर्तमान संवैधानिक व्यवस्था र राजनीतिक संरचनामा तत्काल सत्ता परिवर्तनको सम्भावना न्यून छ।
यसैबीच, शेखरको यो चालबाजीले नेपाली राजनीतिमा नयाँ गतिशीलता सिर्जना गर्ने सम्भावना छ। यदि उनले विपक्षी दलहरूसँग प्रभावकारी गठबन्धन निर्माण गर्न सफल भए भने आगामी दिनहरूमा सत्ता समीकरणमा उल्लेखनीय परिवर्तन आउन सक्छ। विशेषगरी, संसदमा अविश्वासको प्रस्ताव वा अन्य संवैधानिक उपायहरूको प्रयोग गरेर सरकारमाथि दबाब सिर्जना गर्ने सम्भावना बढेको छ।
समग्रमा हेर्दा, शेखर कोइरालाको हालको राजनीतिक सक्रियताले नेपाली राजनीतिमा नयाँ युगको सुरुवात गर्ने संकेत दिएको छ। यो युग पुराना नेताहरूको एकाधिकारको अन्त्य र नयाँ पुस्ताको नेतृत्वको उदयको हुन सक्छ। तर यसका लागि शेखरले आफ्ना रणनीतिक चालहरूलाई व्यावहारिक राजनीतिक परिणाममा रूपान्तरण गर्न सक्नुपर्नेछ, जुन समयले मात्र बताउने देखिएकाे छ।
