माओवादीमा अन्तर्कलह चुलियो: जनार्दन पक्षीय उपमहासचिवमाथि प्रचण्ड समूहको आक्रमण
काठमाडौं। नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा नेता कार्यकर्ताहरु एकआपसमा भौतिक आक्रमणमै उत्रिन थालेका छन्।
अखिल(क्रान्तिकारी)को निर्वाचनमा पराजय व्यहोरेका भुवनसिंह बिष्टले कञ्चनपुरमा अखिल(क्रान्तिकारी)का उपमहासचिवमा निर्वाचित रामचन्द्र भट्टराईमाथि आक्रमण गरेपछि सस्थापन पक्ष आक्रमणमा उत्रिएको इतर पक्षले आरोप लगाएको छ।
बिष्ट अखिल(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्ड पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएर पराजय व्यहोरका व्यक्ति हुन् । अर्का भट्ट भने महाधिवेशनबाट निर्वाचित अखिल (क्रान्तिकारी)को उपमहासचिव र सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुन्।
गत आइतबार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा अखिल(क्रान्तिकारी)को आन्तरिक बैठक बसिरहेको बेला विवाद हुँदा बिष्टले भट्टमाथि आक्रमण गरेका हुन् । उनले ढुंगा प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
बिष्टको आक्रमणबाट घाइते भएका भट्टलाई त्यहाँ उपचारपश्चात थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा ल्याइएको छ । अहिले उनको अन्नपूर्ण न्यरो अस्पतालमा उपचार भइरहेको छ। सोमबार पार्टी उपमहासचिव जनार्दन शर्माले अस्पतालमा पुगेर भट्टको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन्।
पार्टीमा विधि र पद्धतिको एजेण्डा उठाएका शर्मामाथि प्रतिशोध साँधेर प्रचण्ड पक्षले आक्रमण गरेको भन्दै शर्मा पक्षीय नेताहरुले आपत्ति प्रकट गरेका छन्। माओवादी केन्द्र कञ्चनपुरले पार्टी हित विपरीत कार्य गरेको भन्दै भट्टलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।
जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट र संयोजक खेमराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै आक्रमणकारी भट्टलाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको जानकारी दिएका हुन्।
