जनतालाई भ्रमित बनाएर उदाएको रास्वपा पतनको बाटोमा

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु एकपछि अर्को गर्दै विवादमा तानिरहेका छन्। सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दिकरणको मुद्दामा जेलमा छन्। उनी जेल गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका डोलप्रसाद अर्याल उर्फ डिपी पनि गम्भीर अपराधमा मुछिएका छन्।

उनीमाथि मानव तस्करीको आरोप लागेको छ। रास्वपामा आउनुअगाडि उनी सर्पले काचुली फेरेझैं पार्टी फेर्थें । कहिले काँग्रेस, कहिले माओवादी त कहिले एमाले। पार्टीका अर्का सांसद स्वर्णिम वाग्ले रास्वपामा आउनुअगाडि काँग्रेसमा आबद्ध थिए । गएको निर्वाचनमा उनी काँग्रेसका महामन्त्री तथा सांसद गगन थापा र अर्जुननरसिंह केसीलाई भोट माग्न विभिन्न जिल्लामा पुगेका थिए।

तर, काँग्रेसमा टिकट नपाएपछि उनी पनि रास्वपातिर लागे । यी त केही उदाहरण मात्र हुन्। पार्टीमा काम गर्न नसकेकाहरु रास्वपामा भित्रिएका छन्। पहिले माओवादी, काँग्रेस, एमाले, नेमकिपा, राप्रपा, मधेशी दलमा लागेकाहरु रविले २०७९ असार ७ गते पार्टी दर्ता गर्नेबित्तिकै उनका पार्टीमा प्रवेश गरे । नयाँ पार्टी भएपनि रास्वपाले २१ सीटमा चुनाव जित्यो।

पार्टी दर्ता भएको केही समयमै यत्रो सीटमा चुनाव जित्नु सामान्य कुरा होइन । देशको अनुहार फेर्छौ भनेर हिँडेको पार्टी दुईपटक सरकारमा गयो । दुवैपटक प्रचण्ड नेतृत्वकै सरकारमा रास्वपा सरकारमा गएको हो । पद पाएपनि रास्वपाले सिन्को भाँचेन । रवि स्वयं गृहमन्त्री भए । तर, उनले पार्किङ्गबाहेक केही गरेनन् । सहकारीको केशमा आफूलाई मुछेमा काँग्रेस, एमालेका भ्रष्टाचारको फाइल खोल्ने भन्दै उनले तर्साउन खोज्थें ।

उनको हकमा करायो करायो, त्यत्तिकै हरायो भयो । न एउटा भ्रष्टाचारको फाइल खोल्न सके न सेवासुविधा नै त्याग्न । उनी र उनका सांसद पद र सेवासुविधामै लुप्त भए । त्यसैले त पहिलोपटक सरकारमा जानेबित्तिकै जनताको नजरमा नाङ्गिसकेका थिए । २०८१ कात्तिक २ गते प्रहरीले उनलाई सहकारी ठगी काण्डमा छानबिनका लागि हिरासतमा लियो । रास्वपाले देशैभरको कार्यकर्ता उचालेर रविलाई प्रहरीको हिरासतबाट निकाल्न खोजे ।

कतिपय जिल्लामा आन्दोलन भयो । प्रहरी कार्यालय, अदालतबाहिर नाराबाजी गरियो । तर, जनताले उनको पार्टीलाई साथ दिएन । पहिलोपटक उनी ८४ दिन हिरासतमा बसे । धरौटीमा उनलाई छोडियो । पोखरापछि उनीविरुद्ध काठमाडौं, बुटवल, चितवन र पर्सामा मुद्दा दर्ता भएको छ । काठमाडौं र रुपन्देहीबाट धरौटीमा छुटेका उनी आफैं जान्ने हुँदा कारागार पुगेका छन् ।

आफैंले दायर गरेको मुद्दामा अदालतले उनलाई जेल पठाएको हो । उनीमाथि पाँचवटा सहकारीको अर्बौं रुपैयाँ ठगेको आरोप छ । २०८२ असार ७ गतेबाट रास्वपाले रविका निम्ति हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । रविमाथि राजनीतिक प्रतिशोध भएको दाबी रास्वपाको छ । सहकारीबाट करोडौं जनता पीडित भएका छन् । ३५ हजार २३९ वटा सहकारीमा बचतकर्ताको ४३ खर्ब रुपैयाँ फसेको छ ।

रास्वपाका अनुसार २७ लाखले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रोचक प्रसंग के भने, धेरैले बुझ्दै नबुझीकन हस्ताक्षर गरेका छन् । सहकारीको कारणले बचतकर्ताको के हालत भएको छ ? हस्ताक्षर गर्नेहरुलाई जानकारी छैन । सहकारीले धेरैको घरबार उजाडिएको छ । जीवनभरको कमाइ सहकारीले स्वाहा पारिदिएको छ । सर्वसाधारणसँग औषधी किन्ने पैसा छैन ।

आफ्नो घरखेत बेचेर सहकारीमा लगेर पैसा राखेकाहरु ‘घर न घाट’ को भएका छन् । तर, रास्वपालाई जनतासँग के सरोकार ? वास्तवमा भन्ने हो भने रास्वपा देश र जनताका लागि आएको पार्टी नै होइन । अरुले खाए अब हामीहरुको पालो भनेर राजनीतिमा प्रवेश गरेकाबाट अपेक्षा राख्नु पनि केही छैन । जनता पीडामा छन्, तर रास्वपाले जनताको पीडालाई अनदेखा गरेको छ ।

राजनीतिक प्रतिशोध भए जनताको पैसा कहाँ गयो ? कसले खायो ? रास्वपाले प्रमाणित गरिदिनुपर्यो । हस्ताक्षर संकलन गर्दैमा रवि चोखो साबित हुन्छन् ? अहिले भइरहेको हस्ताक्षर अभियानको एउटै उद्देश्य अर्को निर्वाचनमा भोट बटुल्ने हो । तर, करोडौं पीडित भएकोमा २७ लाखले हस्ताक्षर गर्दैमा केही हुनेवाला छैन । रविलाई एउटा सहकारीमा २ वर्ष जेल सजाय भएपनि पाँच वटा सहकारीमा १० वर्ष हुन्छ ।

अदालतले बिगो हेरेर कैद र जरिवाना तोक्छ । रविको कारण चितवनमा दुईपटक निर्वाचन भइसकेको छ । २०७९ मसिंर ४ गते भएको निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । उनले जिते । २०७९ पुस ११ गते उनी गृहमन्त्री भए । उनी नेपाली नागरिक नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा पर्यो । सर्वोच्चले उनी नेपाली नागरिक नभएको ठहर गरेपछि गृहमन्त्री भएको ३२ दिनमै पद चैट भयो ।

सांसद, पार्टी सभापतिलगायतका पदबाट पनि हात धुनुपर्यो । त्यसपछि बल्ल उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता लिएका हुन् । सरकारले २०८० वैशाख १० गते चितवनमा निर्वाचन गरायो । रवि पुनः विजयी भए । काँग्रेसबाट सांसद रामचन्द्र पौडेल पद त्यागेर राष्ट्रपति बनेसँगै स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरे । पौडेलको ठाउँमा रास्वपाबाट स्वर्णिम उम्मेदवार भए ।

उनी निर्वाचन जिते । अहिले चितवन निर्वाचन क्षेत्र नम्बर २ जनप्रतिनिधिविहिन छ । चितवनका जनताले बारम्बार रविलाई ठाउँ दिए । तर, परिणाम के भयो ? रवि पत्रकार शालिकग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन केशमा पहिलेपनि प्रहरी हिरासतमा पुगिसकेका व्यक्ति थिए । तर, जनताले आँखामा पट्टी बाँध्दा जोगिएका उनलाई पुनः जिताइयो ।

अब स्थानीय तहको चुनाव हुन २१ महिना बाँकी छ । प्रदेश र संघको निर्वाचन हुनलाई २८ महिना बाँकी छ । २०८४ को चुनावमा माओवादी, रास्वपा, नेमकिपा शून्य हुने सर्वसाधारण बताउँछन् । २०४८ देखि २०७९ सम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा निरन्तर नेमकिपाले चुनाव जितेको छ । अब हुने निर्वाचनमा नयाँ पार्टी देख्ने पाइने सर्वसाधारणको जिकिर छ ।

कतिपय भने २०८४ मा चुनाव नै नहुने पनि बताउँछन् । मुलुकका राजनीतिक पार्टीहरु ठग हुन् भन्ने जनताले देखिसकेका छन् । रास्वपाले आफूलाई नयाँ पार्टी भनेर देखाउँदै आएको छ । आफूहरु निर्णायक भूमिकामा पुगेमा यो–त्यो गर्छौ भन्दै हिँडेका छन् । तर, रास्वपा सरकारमा गइसकेको पार्टी हो । सरकारमा जाँदा रास्वपाले कति काम गर्यो ? कस्तो काम गर्यो ? जनताले देखिसकेका छन् ।

रास्वपा पनि अन्य पार्टीकै लाइनमा छ भन्ने पुष्टि भइसकेको छ । भनिन्छ नि,‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन ।’ रास्वपासँग यो उखान मेल खान्छ । गफ ठूल्ठूला, काम केही छैन । कार्यवाहक सदस्य अर्याल र माओवादीका नेता शक्ति बस्नेतमाथि एक सहकारीको रकम हिनामिना गरेको आरोप छ । रास्वपा सांसद सोबिता गौतम र डा तोसिमा कार्कीलाई जनताले राम्रै व्यक्ति सोचेका थिए ।

तर, उनीहरुको असली अनुहार पनि विस्तारै जनताको नजरमा खुल्दै छ । २०६४ चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले १२० सीट प्रत्यक्ष जित्यो । धेरै ठाउँमा थोरै मतले चुनाव हार्यो । पछिल्लो निर्वाचनमा माओवादी ३२ सीटमा सीमित भएको छ । यता, विवेकशील साझा पार्टीको अहिले नामोनिशान छैन । माओवादी र विवेकशीलको हविगत रास्वपाको देखिएको छ । रास्वपाले २१ सीट जितेको थियो, अर्को चुनावमा यही पनि नरहलाजस्तो छ । रास्वपा असारको भलजस्तै बनेको छ ।