दशैं नजिकिएसँगै दाउ खोज्दै यातायात व्यवसायी,सरकारको छैन कुनै तयारी
अनुसा थापा
हिन्दूहरुको महान चाड दशैं आउन अब केही समय मात्र बाँकी छ । हरेक वर्ष दशैंमा काठमाडौं उपत्यका बसिरहेकाहरु आफ्नो थातथलो फर्किन्छन् । अध्ययन, रोजगारीलगायत विभिन्न कारणले काठमाडौं आएकाहरु दशैंमा घर जान्छन् नै । यता, जिल्लाको सदरमुकाममा डेरा लिएर बसेकाहरु पनि घर फर्किन्छन् ।
दशैंमा काठमाडौं उपत्यकाबाट झण्डै २५ देखि २८ लाख सर्वसाधारण आफ्नो घर जान्छन् । तर, चाडपर्व आउनेबित्तिकै यातायात व्यवसायी र हवाई व्यवसायीको ठगीधन्दा मौलाउँछ । यी व्यवसायीलाई दशैं कमाउने अवसर बन्छ । दशैं आउनेबित्तिकै भाडादर ह्वात्तै बढाइन्छ । अघिपछि एक हजार रुपैयाँमा यात्रा गरिरहेको बाटोमा पाँच हजार रुपैयाँ भाडा तिर्न बाध्य बनाइन्छ ।
हवाई व्यवसायीको त झन् लुट मच्चिन्छ । दशैंमा गाडी र हवाई जहाजको टिकट पाउन हम्मेहम्मे हुन्छ । मँहगो भाडा तिर्दा पनि टिकट नपाउँदा कतिपय घर जान पाउँदैनन् । अर्कोतर्फ, कतिपयसँग यत्रो मँहगो भाडा तिर्न पैसा नै हुँदैन, कसरी घर फर्किनु ? उनीहरुले वर्षदिनमा एक पटक चाडपर्व आफ्नो परिवार, आफन्तसँग मान्न पाउँदैनन् ।
७४ जिल्लाका जनता काठमाडौं उपत्यकामा बसेका छन् । तर, मँहगो भाडा र सवारी साधनको अभावका कारण उनीहरु आफ्नो प्रमुख चाडपर्वमा समेत घर जानबाट वञ्चित छन् । दशैं नजिकिनेबित्तिकै यातायात व्यवसायीको मनोमानी शुरु हुन्छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई छुट दिँदैनन् ।
सुटकेश, झोलाको पनि मनलाग्दी पैसा असुल्छन् । यातायात व्यवसायी र हवाई व्यवसायी हरेक वर्ष दशैंमा दाउ थापेर बस्छन् । अग्रिम टिकट खोल्नुपर्ने बेला भएपछि व्यवसायीहरु निहुँ खोज्न थाल्छन् । भाडा नबढाएमा अग्रिम टिकट नखोल्ने भन्दै सरकारलाई घुँडा टेकाइन्छ र भाडा बढाइन्छ ।
यो रीत नै बनिसकेको छ । विगत पाँच दशकदेखि यहीँ क्रम चलिरहेको छ । यातायात व्यवसायीको दबाबमा परेर सरकारले भाडा बढाउँछ । त्यसपछि अग्रिम टिकट खोलिन्छ । तर, तीन दिनमै टिकट सिद्धिन्छ । र, शुरु हुन्छ कालोबजारी । सरकारले घटस्थापनादेखि पूर्नेको दिनसम्म रुट परमिट खुल्ला गरिदिन्छ ।
उपत्यकाभित्र सञ्चालित गाडीहरु पनि त्यतिबेला यात्रु बोकेर बाहिरी जिल्ला जान्छन् । विभिन्न रुटमा चल्ने माइक्रोबस, बस, ट्याक्सीहरु रिजर्भमा यात्रु लिएर जान्छन् । जसका कारण उपत्यकामा सवारी साधनको हाहाकार हुन्छ । त्यसपछि शुरु हुन्छ, ट्याक्सीको ठगीधन्दा । ट्याक्सीले एक किलोमिटरमै एक हजार रुपैयाँ असुल्छन् ।
गाडी कम भएको फाइदा ट्याक्सीले उठाउँछ । पैसा हुने त ट्याक्सी चढ्लान्, नहुनेको हकमा के ? पैसा नहुनेहरु बिरामी भएपनि पैदलयात्रा गर्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती कर्मचारी बोक्ने बसहरु प्रशस्तै छन् । तर, सरकारले त्यो बस चलाउनमा चासो देखाउँदैन ।
जनता दुःख खेप्छन्, बस भने थन्काएर राखिएको हुन्छ । हुन त सरकारलाई कहिले नै जनताको चासो थियो र ? जनता ठगिएपनि, लुटिएपनि, गाडी नपाएर हिँड्नुपरेपनि सरकारले वास्ता गर्दैन । दशैंमा लाखौं घर गएपनि, लाखौं उपत्यकामै हुन्छ । उनीहरु पनि गाडी चाहिन्छ ।
दशैंमा सुपर डिलक्स–डिलक्सको नाममा बढीबढी भाडा उठाउँछन् । यता, जम्बो हायस, माइक्रोबस, टाटासुमोले पनि सुपर डिलक्स–डिलक्सको नाममा बढी भाडा असुल्छन् । जबकि, यी गाडी सुपर डिलक्स–डिलक्सको मापदण्डभित्र पर्दैन । अर्कोतिर, बसहरुले पनि दर्ता भएको मितिले तीन वर्ष पुगेपछि सुपर डिलक्स–डिलक्सको नाममा ४० प्रतिशत भाडा उठाउन पाउँदैन ।
तर, १६–१७ वर्ष पुराना सवारी साधनहरुले पनि सुपर डिलक्स–डिलक्सको नाममा बढी भाडा असुलिरहेका छन् । रात्रिकालीन बसको हकमा दर्ता भएको ६ वर्षपछि राति चलाउन पाइँदैन । ती गाडी दिँउसो मात्र चलाउन मिल्छ । तर, दशकौं चलिसकेको गाडीहरु पनि रात्रिकालीन बसको रुपमा सञ्चालन भइरहेको छ ।
यातायात व्यवसायी र हवाई व्यवसायीले वर्षदिनभरीको कमाइ दशैंमै उठाउँछन् । यातायात व्यवसायीले सीट क्षमताको चोब्बर यात्रु खाँदछन् । जसका कारण गाडी दुर्घटना भएर धेरैको ज्यान जान्छ । पछिल्लो समय दशैं ठग्ने र दुर्घटनामा परेर मर्ने चाडजस्तै बनेको छ । दशैं मनाउन यहाँबाट हाँसिखुशी गएकाहरुको घरमा कतिबेला रुवाबासी चल्ने हो ? ठेगान हुँदेन ।
प्रत्येक दशैंमा अप्रिय घटना हुन्छ । तर, सरकारले कहिलेपनि त्यसलाई गम्भीर रुपमा लिँदैन । सर्वसाधारणलाई कसरी ठगिनबाट जोगाउने र कसरी ज्यान बचाउने ? सरकारले होमवर्क नै गरेको हुँदैन । जसको परिणाम हरेक दशैंमा देखिन्छ । कतै भीरबाट गाडी खस्छ, कतै के हुन्छ ।
सरकारले त घर जानेहरुलाई सहज वातावरण बनाइदिनुपर्ने हो । यद्यपि, सरकारलाई कुनै मतलब नै छैन । दशै आउन अब डेढ महिना मात्र बाँकी छ । तर, सरोकारवाला निकायले गृहकार्य गरेका छैनन् । भनिन्छ नि,‘जब पर्यो राति, तब बुढी ताति ।’ सरकारको पारा पनि त्यस्तै छ ।
दशैं आउने एक–डेढ साता बाँकी हुँदा गृह र यातायात मन्त्रालयले बल्ल विभिन्न निकायसँग छलफल शुरु गर्छ । त्यसपछि फेरि यातायात व्यवसायीको भाडा बढाउने नाटक शुरु हुन्छ । जसका कारण हरेक वर्ष अग्रिम टिकट खुलाउने बेलामा ढिलाइ हुन्छ । टिकट काउण्टरहरुले टिकट बेच्छन् ।
सर्वसाधारणले मँहगो शुल्क तिरेर टिकट काट्छन् । तर, घर जाने दिन गाडी देखेर यात्रु छाँगाबाट खसेझैं हुन्छन् । एसी भएको लक्जरियस् गाडी भनिएकोमा थोत्रा गाडी हुन्छ । सीसा फुटेको, सीट भाँच्चिएको गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ । हुन त सरकार यातायात व्यवसायीको अगाडि निरीह छ ।
२० वर्षे पुराना ट्याक्सीको नम्बर प्लेट लाखौंमा बिक्री भइरहेको छ । पाँच दशकदेखि कालो र हरियो प्लेटको ट्याक्सी, फो–स्ट्रक टेम्पो, कालीमाटीमा चल्ने ढुवानी गाडीको दर्ता बन्द छ । सरकार नयाँ दर्ता खोल्न डराएको छ । सरकारले यातायात व्यवसायीबाट लिनुपर्ने ३२ वटा चीजमा ३५ वर्षदेखि राजश्व बढेको छैन ।
तर, भाडा भने पटकपटक बढेको छैन । अर्कोतर्फ, यातायात व्यवसायीको लुटको धन्दाबारे सबै जानकार नै छन् । सरकारले तोकेकोभन्दा बढी भाडा असुलेर दिनमा १८ करोड रुपैयाँ ठग्छ । यातायात व्यवसायीहरु नयाँ गाडी हाल्ने धनीसँग बाटो हेरेर दुई लाखदेखि १५ लाख रुपैयाँ असुल्छन् ।
राज्यले चाँहि परमिटबापत जम्मा पाँच सय रुपैयाँ पाउँछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, महासचिव भरत नेपाललाई यहीँ अमेरिका भयो । केही नभएकाहरु उनीहरुले जनतालाई र राज्यलाई ठगेर अंकुत सम्पत्ति जोडेका छन् ।
विगतमा केही नभएका उनीहरुले रोड खरिदबिक्री गरे । बीमाबापतको रकम खाइदिए । महासंघको सदस्य बनाएबापत पनि प्रालिबाट पैसा असुल्ने, मासिक लेबी पनि उठाउने।
जीप चलाउने, ग्याँस टेम्पो चलाउने, कलंकीमा टिकट काट्नेहरु मालामाल बनेका छन्। गुण्डा पाल्न, ठग्न, राजनीतिक दलको झोला बोक्न सक्नेहरुलाई यहाँ कमाउने अवसर नै अवसर छ ।यहाँ ‘जो चोर, उसकै ठूलो स्वर’ को अवस्था छ । जो ठग्छ, लुट्छ, उहीँ नेता ।
