यू-२० महिला एसियन कप छनोट: नेपालले आज साउदी अरेबियासँग खेल्ने

काठमाडौं। एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बुधबार घरेलु टोली भुटानविरुद्ध १-१ को बराबरी खेलेको थियो। यसका कारण नेपाली टोली दबाबमा छ ।

नेपालले भुटानसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। उता साउदी अरेबियाले उत्तर कोरियसँग १५-० गोलको हार बेहोरेको थियो।

सिंगल राउण्ड पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको १२औँ संस्करणमा स्थान बनाउने सेटअप हुँदा नेपाललाई साउदी अरेबियाविरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।

साउदी अरेबियासँग बराबरी अथवा हार बेहोरे नेपालको एसियन कप पुग्ने सपना एक खेलअगावै समाप्त हुने सम्भावना छ।