बडीमालिका गएका एक जनाको भीरबाट लडेर मृत्यु

बाजुरा । बाजुराको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी फर्कने क्रममा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको हो।
बडीमालिका दर्शन गरेर बिहीबार (साउन २२) साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानीनजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्। खोल्सामा अड्किएको उनको शव झिक्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले जानकारी दिए।
लगातार वर्षा भइरहेकाले शवलाई खोल्साबाट माथि ल्याउन समस्या भएको छ। उद्धारका निम्ति नेपाली सेनाको हेलिकोप्टर ल्याउने तयारी गरिए पनि प्रतिकूल मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ।
