रविमाथि प्रतिशोध साँधिएको भन्ने भाष्य बनाउन खोजियो: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नभएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमा लाखौँ जनताले गरेको बचत हिनामिना गर्ने मुद्दामा सयौँ व्यक्तिमाथि कारबाही भइरहेको भन्दै न्यायप्रणालीमा सरकारको कुनै भूमिका नरहेको स्पष्ट पारे। उनले एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने अरूमाथि के भइरहेको हो ? भन्दै प्रश्न गरे।
उनले लामिछानेलाई लक्षित गर्दै भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने टिप्पणी गरे। उनले संसद् बहिष्कार गर्ने तथा देशलाई भावनात्मक तथा हानिकारक उत्तेजनामा लैजानु अनुचित नभएको उल्लेख गर्दै अदालतको निर्णमा सरकारको हात नरहेको दोहोर्याए।
प्रधानमन्त्री ओलीले भने,लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ। एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने थुनामा रहेका अरू व्यक्तिमाथि के भएको हो त ?
अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो त ? या सरकारले भनेजस्तै चल्दै गएको हो त सबै भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेबाट समयले सबै जवाफ माग्नेछ। त्यस्ताका पछि लाग्ने भीड अचम्मको मात्र होइन दयालाग्दो छ।
प्रधानमन्त्री ओलीले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नका लागि संसद्का दुई ठूला दलहरूको समीकरणमा सरकार गठन गरिएको बताए। हाल विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको उनको आरोप छ।
