सुनसरीको इनरुवामा कफ्यू हट्यो,सद्भाव र्याली निकाल्ने तयारी
काठमाडौं। सुनसरीको इनरुवा क्षेत्रमा लगाइएको कफ्र्यू हटाइएको छ। अवस्था सामान्य बन्दै गएको र पूर्वपश्चिम राजमार्ग पनि अवरोध हुने भएकाले कफ्र्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिरकारी पोषण लामिछानेले जानकारी दिए।
उहाँका अनुसार आज बिहानैदेखि इनरुवा नगरपालिका वडा नं ३ र ६ को सीमा, कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कफ्र्यू हटेको हो। देवानगन्ज र हरिनगर गाउँपालिकाका क्षेत्रमा भने कफ्र्यू जारी छ।
त्यहा आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कफ्र्यू जारी राखिएको हो। कफ्र्यू लगाइएको क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती सुरु गरेको छ।
हिजो बसेको सर्वपक्षीय बैठकले शान्ति स्थापनाका लागि सहमति गरेसँगै आजै केही स्थानमा सद्भाव ¥यालीको समेत आयोजना गरिएको छ। आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिँदा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु तथा दर्जन बढी घाइते भएका थिए।
त्यसैको विरोधमा हिजो दिनभर कफ्र्यूका बाबजुद समेत प्रदर्शन भएको थियो। देवानगन्ज, कप्तानगन्ज, हरिनगर, भुटाहा, इनरुवा, लौकही, भोक्राहालगायतका क्षेत्रमा दिनभर प्रदर्शन भयो। यो प्रदर्शन जनकपुर, विराटनगर र राजविराजसमै फैलिएको थियो।
यसैबीच सो हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले गएराति नै घट्ना स्थलमा पुगगी घट्नाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
समितिले गएराति विराटनगरस्थित न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन थालेको छ।
