अवरुद्ध नारायणगढ–मुग्लिन सडक आयो सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै सवा १ बजेदेखि दुईतर्फी सवारी सञ्चालन हुन थालेको छ।

इच्छाकामना गाउँपालिका-५ खहरे खोलामा बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो। त्यो ठाउँमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो।

यसअघि सवा ११ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो। पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो।

पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ।