एमालेलाई खाली जग्गा देख्नै नहुने, आँखा गइहाल्नेरहेछ: शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल एमालेबाटै भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

नेता कोइरालाले एमालेले छलकपट बाहेक केही नगरेको बताउँदै भने,हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भनेर विधेयक बनायौँ । तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट सुरु भयो। अहिलेसम्म त हामीले लुकायौँ अब लुकाउनुपर्ने छैन। अब लुकाउनुपर्ने आवश्यकता छैन।

उनले राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियडको पक्षमा संशोधन प्रस्ताव हालेको बताउँदै भने,एमाले त छलकपट गर्दोरहेछ। त्यसमा पनि विमति छैन।अहिले भूमि सम्बन्धी विधेयक खाली जग्गा मास्ने गरी एमालेले ल्याएको पनि उनले आरोप लगाए।

उनले भने,जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस् । पोखराको लिचीबारी हेर्नुस्।

गिरीबन्धु टी स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ। संघीय मामिला मन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती पदमा बसिराख्नुभएको छ।

कास्की एमालेको जिल्ला कमिटीले नै भूमिमन्त्रीको राजीनामा माग हुँदासमेत कांग्रेसले बोल्न नसकेको बताए।अर्को रेशम चौधरीजीको पार्टीको अध्यक्ष पनि बिचौलिया हुनुहुँदो रहेछ’ नेता कोइरालाले भने,सांसद पनि बिचौलिया भएपछि देशको हालत के हुन्छ होला? कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमि मन्त्रीले स्विकारिराख्नुभएको छैन। आज बैठक नै बस्न सकेन।