एमाले र कांग्रेसले किन बोलाए आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेले साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्नेगरी बैठक बोलाएको हो।

आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही नखुलाइएको एमाले सांसद सूर्य थापाले जानकारी दिए । त्यस्तै कांग्रेसले पनि १० देखि २ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्दैछ। त्यसअगाडि आज एमाले र कांग्रेसले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको बुझिएको छ। यसैका लागि हस्ताक्षर संकलन गर्ने तयारी गरिएको जनाएको छ।  

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो। तर, आलोचना भएपछि दुवै दल पछि हटेका थिए।

संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता गरिदिए पछि दुई दल उपसभामुख हटाउने तयारीमा लागेका हुन्।

प्रमाणीकरणका लागि पेस भएको एक सातापछि राष्ट्रपति पौडेलले गत साउन ८ गते विभिन्न पाँच आधार र कारण खुलाएर विधेयक प्रतिनिधि सभामै फिर्ता गरिदिएका थिए।

सदस्य रिक्त भएको अवस्थामा दुई जनाले समेत संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्ने गरी विधेयक पारित भएको थियो। पारित विधेयक लोकतान्त्रिक अभ्यासविपरीत भएको र वर्तमानको व्यावहारिक समस्यालाई हल गर्नेसमेत नभएको भन्दै फिर्ताका लागि केही राजनीतिज्ञले लबिङसमेत गरेका थिए।

विधेयकमा समावेश निर्णय प्रक्रियाको सङ्ख्यामा पनि राष्ट्रपतिको असन्तुष्टि रहँदै आएको छ। अध्यक्ष र बहाल रहेका सदस्यको ५० प्रतिशत उपस्थित हुँदा कायम हुन सक्ने सदस्यले मात्र गरेको निर्णयलाई मान्यता दिँदा स्वतः अल्पमत बुझिने राष्ट्रपतिले उल्लेख गरेका छन्।