मधेशमा पोखरी बन्यो काल,डुबेर ३४० बालबालिकाको मृत्यु

फाइल तस्वीर

काठमाडौं। मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। विगत तीन वर्षयता मधेशका आठ वटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५८६ मध्ये ३४० जना बालबालिका रहेका छन्।

मृतक बालबालिकामध्ये बालिकाभन्दा बालकको सङ्ख्या बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो। गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरबजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको थियो।

मृत्यु हुनेमा चार वर्षीय आरोहीकुमारी राउत र तीन वर्षीय मैथिलीकुमारी राउत रहेका थिए। दुवै जना पोखरीमा नुहाउने क्रममा गहिरो पानीमा फसेका थिए। गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर नगरपालिका–२, सराबेका सात वर्षीय रितिक साह र पाँच वर्षीय रितिश साहको डुबेर मृत्यु भएको थियो।

मुत्यु हुने बालक दाजुभाइ रामबाबु र श्यामबाबुका छोरा थिए। वर्ष असार २० गते धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्बाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका थिए। १० देखि १२ वर्ष उमेर समूहका यी तीन जना बालिका स्थानीय घोंघा पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा एक्कासि उनीहरू डुब्न थाले होहल्लापछि स्थानीय युवाले निकालेका थिए तर उनीहरूमध्ये एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो भने दुई जनाको उपचारका व्रmममा मृत्यु भएको थियो।

यसरी बालबालिकाले बर्सेनि अकालमा ज्यान गुमाइरहेका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा पानीमा डुबेर मृत्यु हुनेमा मधेश प्रदेशमा ५८६ जना रहेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहले छारे रोग, जथाभाबी बनाइएका खाल्टाखुल्टी र अभिभावकको लापर्बाहीका कारण अधिकांश बालबालिकाको पानीमा डुबेर मृत्यु भएको बताए। डुबेर मृत्यु हुनेमा प्रदेशको आठ वटै जिल्लामध्ये सबैभन्दा बढी धनुषा रहेका छन् भने सबैभन्दा कम पर्सा रहेको तथ्याङ्कले देखाएको छ।