संविधान संशोधन जोखिमपूर्ण तर आवश्यक छ: महामन्त्री थापा

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरूले संविधान बनेको १० वर्ष बितिसक्दा पनि सङ्घीयता कार्यान्वयनका लागि आवश्यक महत्त्वपूर्ण कानुनहरू निर्माण हुन नसकेको स्वीकार गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेताहरूले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौती र कमजोरीबारे चर्चा गरे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान निर्माणका क्रममा कांग्रेस र एमालेलाई सङ्घीयता लादिएको जस्तो महसुस भएको बताए ।

उनले पहिलो संविधान सभा विघटन हुनुको मुख्य कारण प्रदेशको सङ्ख्या र अधिकारको विवाद रहेको स्मरण गरे । ‘बालुवाटारमा बाबुराम भट्टराईसँग भएको सहमतिपछि ११ प्रदेश र स्थानीय सरकार प्रदेश मातहत राख्ने तयारी थियो, तर अन्तिममा सहमति भाँडियो,’थापाले भने ।

उनले संविधान संशोधन जोखिमपूर्ण भए पनि आवश्यक रहेको बताए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सङ्घीयता कार्यान्वयनका लागि कानुन संशोधनमा ध्यान दिनुपर्नेमा नेताहरूको फोकस निर्वाचनमा मात्र केन्द्रित भएको बताए । ‘हामी सांसदहरू विधायिकी कामभन्दा अर्को निर्वाचनको तयारीमा लाग्दा समस्या भएको छ,उनले भने ।

उनले वर्तमान सरकारको मुख्य लक्ष्य संविधानअनुसार कानुन व्यवस्थित गर्नु रहेको दाबी गरे । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संविधान निर्माणमा जोशमा आएर अव्यवहारिक प्रावधान राख्दा कार्यान्वयनमा जटिलता आएको बताए । ‘हामीले जोसमा धेरै कुरा राख्यौँ, जुन कार्यान्वयन गर्न गाह्रो भयो,’ उनले भने । संविधान संशोधनको विषय जटिल रहेको र एक वर्षमा पनि संशोधनका विषय टुङ्गो लाग्न नसकेको उनको भनाइ छ ।