एमसीसीमा दलहरुले दोहोरो चरित्र देखाए: झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको र यसमा नेपालका राजनीतिक पार्टीहरूले पनि दोहोरो चरित्र देखाएको बताए।

आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेका हुन्। नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको खनालको भनाइ छ।

एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढङ्गबाट अनुमोदन भएकाले चीन र भारतसँग नेपालको भू-राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्‍याएको खनालको दाबी छ।

संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको समेत बताए। खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाए। त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दुस्ख भोग्नुपरेको समेत बताए।

एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत् व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै खनालले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको टिप्पणी गरे। एमसीसी सम्झौता कार्यान्वयनबारे अझै अस्पष्टता रहेको समेत बताए।