संविधान असफल बनाउने छुट कसैलाई छैन: गृहमन्त्री लेखक
काठमाडौं। गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुने बताएका हुन्। संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरण समेत गरे।
यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ। त्यसको लक्षण पनि देखिन थालेको उनले बताए। संविधानको रक्षा,यसको सुदृढीकरण,समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाई छ। समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उनले बताए।
समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला कांग्रेस र एमालेले सहमति गरेको पनि उनले उल्लेख गरे। तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उनले स्वीकार गरे।
संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उनको भनाई छ। अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उनले त्यो पनि जायज रहेको बताए। यो संविधानमा कतिपय कुराहरू समेट्न खोज्दाखोज्दै पनि नसकिएको उनको भनाई छ।
