एमालेभित्र ओली–विद्या टकराव उत्कर्षमा,पार्टी फुटको खतरामा
रनसुर महतारा (रमेश)
काठमाडौं। नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच देखिएको समानान्तर गतिविधिले पार्टीका नेता-कार्यकर्ताहरूलाई अलमलमा पारेको छ। दुई प्रभावशाली व्यक्तित्वबीचको यस बढ्दो मतभेदले एमालेको आन्तरिक एकतामा गम्भीर प्रश्न खडा गरेको छ।
पार्टीका नेताहरूका अनुसार ओली र भण्डारीबीच राजनीतिक दिशा र रणनीति भन्दा पनि नेतृत्वकाे विषयले बढी मतभेद बढको छ। यद्यपि विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेकी सदस्य छैनन्, तर उनको राजनीतिक प्रभाव र पूर्वराष्ट्रपतिको हैसियतले उनलाई पार्टीमा महत्वपूर्ण स्थान दिने अाकलन गरिएकाे थियाे।
यो द्वन्द्व केवल व्यक्तिगत मतभेद मात्र नभएर नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यको दिशालाई लिएर भएकाे देखिन्छ। ओलीको पार्टीमाथिको एकछत्र नियन्त्रणमाथि प्रश्न उठाउँदै भण्डारीले वैकल्पिक नेतृत्वको संकेत दिइरहेकी छिन्।
एमालेका धेरै नेता-कार्यकर्ताहरूले व्यक्त गरेका छन् कि उनीहरू दुवै नेताको सम्मान गर्छन् तर बढ्दो तनावले पार्टीको आन्तरिक एकतामा खलल पुर्याउँदैछ। केही जिल्ला कमिटीहरूमा समेत दुई गुटको समान्तर कमिटी निर्माण हुन थालेका छन्।
पार्टीका केन्द्रीय सदस्यहरूका बीचमा यस विषयमा गम्भीर छलफल भइरहेको छ। नेताबीच वार्ता र सम्झौताको वकालत गर्दैछन्। तर कतिपयले यसलाई एमाले फुट्ने प्रारम्भिक संकेतको रूपमा लिइरहेका छन्।
विशेष गरेर विद्यादेवी भण्डारीले हालका दिनमा पार्टीको मुख्यधाराभन्दा फरक राजनीतिक अभिव्यक्ति दिइरहेकी छिन्। उनले सार्वजनिक कार्यक्रमहरूमा एमालेको नीति र रणनीतिमाथि प्रत्यक्ष टिप्पणी गरिरहेकी छिन्, जसलाई पार्टी नेतृत्वले असहज भएर हेरिरहेको छ।
विद्यादेवी भण्डारीको चुनौतीको सबैभन्दा चर्चित पक्ष भनेको उनको पार्टी सदस्य नहुँदा पनि देखिएको प्रभावले हो। उनी एमालेकी सदस्य नभए पनि उनको राजनीतिक इतिहास,राष्ट्रपति कालको छवि र महिला नेतृत्वको प्रतीकको रूपमा चिनिने व्यक्तित्वले उनलाई पार्टी भित्रै एउटा शक्तिशाली धार बनाएको छ।
विद्यादेवी सदस्य छैनन्, तर उनको राजनीतिक पूँजी अन्तर्राष्ट्रिय स्तरमै चिनिन्छ। उनले चाहे ओलीको अध्यक्षतालाई चुनौती दिन सक्छिन्।तर, यदि विद्यादेवीले आफ्नो गतिविधि विस्तारित गरिन् र असन्तुष्ट नेताहरूलाई एकत्रित गर्न सफल भइन् भने, एमालेको फुट अपरिहार्य हुन सक्छ।
एमाले फुट्ने सम्भावनाले नेपाली राजनीतिमा ठूलो धक्का दिन सक्ने पार्टी नेता कार्यकर्ताहरू बताउँछन्। एमाले नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी हो र यसको फुटले देशको बायाँपन्थी राजनीतिलाई नै अस्थिर बनाउन सक्छ। विशेषगरी, आगामी आउने स्थानीय तह चुनाव र संसदीय चुनावमा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ। एक एमाले नेताले भने,यदि अब दुवै नेताबीच सम्झौता भएन भने, पार्टी दुई टुक्रा हुने निश्चित छ। र यसको जिम्मेवार दुवै पक्षले नै लिनुपर्छ।
यस परिस्थितिमा एमालेका कार्यकर्ताहरू निकै चिन्तित देखिएका छन्। उनीहरूको भनाइ छ पार्टीको एकता र स्थिरताका लागि दुवै नेताले राजनीतिक परिपक्वता देखाउनु पर्ने छ।अन्यथा यसले एमालेलाई कमजोर बनाउने मात्र नभएर समग्र वामपन्थी राजनीतिमा नकारात्मक प्रभाव पार्ने बताउन थालेका छन्।
राजनीतिक पण्डितहरूका अनुसार नेपाली राजनीतिमा व्यक्तिकेन्द्रित राजनीतिको प्रभाव यो घटनाबाट स्पष्ट हुन्छ। औपचारिक पार्टी सदस्यता नभए पनि राजनीतिक प्रभाव र जनसम्पर्कको आधारमा व्यक्तिले पार्टीमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने यसले प्रमाणित गरेकाे छ।
अब एमालेका लागि मुख्य चुनौती दुवै नेताबीच सन्तुलन कायम गर्दै पार्टीको एकता जोगाउने छ। यदि यो द्वन्द्व समयमा नै समाधान भएन भने एमालेले ठूलो राजनीतिक संकटको सामना गर्नुपर्ने निश्चित जस्तै देखिएकाे छ।
