स्वास्थ्य मन्त्री को बन्ला ? भगवान कोइरलादेखि गोविन्द केसीसम्मको चर्चा
काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारको तयारी गरेसँगै नयाँ मन्त्रीको नामहरू चर्चा हुन थालेका छन्।
तर जेन-जी पुस्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई जस्तै मन्त्रीहरू पनि डिस्कोर्डजस्ता सामाजिक प्लेटफर्मको प्रयोग गरी खुला र पारदर्शी मतदानबाट छान्ने तयारी गरेका छन्। भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउने उनीहरुको भनाइ छ।
यो प्रक्रियामा यदि स्वास्थ्य मन्त्रीका लागि पाँच जना उम्मेदवारहरू छनोट भए भने, तीमध्ये जसले सबैभन्दा बढी भोट पाउँछन्, उही स्वास्थ्य मन्त्री बन्नेछन्। यसअघि जेनजी समूहले प्रधानमन्त्रीको छनोट गर्दा पनि यही प्रकृया अपनाएको थियो।
नयाँ बनेको अन्तरिम सरकारमा स्वास्थ्य क्षेत्रकै विशेषज्ञ विज्ञहरूको चर्चा रहेको छ। जसमा चर्चित नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइत, वरिष्ठ स्नायु रोग विशेषज्ञ तथा हाल काठमाडौं महानगरका मेयर बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा जगदिशप्रसाद अग्रवाल, चिकित्सा शिक्षाको क्षेत्रमा अभियान्ताको रुपमा अघि बढ्दै आएका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा गोविन्द केसी, चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा भगवान कोइराला, स्त्री रोग विशेषज्ञ भोला रिजाल लगायतको नाम चर्चामा रहेको छ।
यसमध्ये डा भोला रिजाललाई जेनजी समूहका केही युवाहरूले प्रस्तावसमेत लगि सकेको डा रिजालले बताए।
केही युवाहरूबाट प्रस्ताव आएको छ सबैसँग सल्लाह गरेर अघि बढ्छु। अहिले देश अप्ठ्यारो परिस्थितिमा छ। यसको लागि हामी सबै मिलेर अघि बढ्नु पर्छ त्यसैले युवाहरूले विश्वास गरेर दिएको जिम्मेवारी लिन पछि हट्दिनु डा रिजालले भने।
यता केही जेनजी समूहले ५० वर्षभन्दा कम उमेरका स्वास्थ्य क्षेत्रमा लागेकालाई मन्त्री बनाउनु पर्ने आवाज पनि उठेको छ।
