आज ५ सडक पूर्ण अवरुद्ध, ७ ठाउँमा एकतर्फी सञ्चालन
काठमाडौं । बाढी पहिरोका कारण आज देशभरका पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध हुँदा ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् ।
जसमा कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्ण रुपमा अवरुद्ध छ । बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द भएको छ ।
त्यस्तै पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडक पूर्ण रुपमा बन्द भएको छ । अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ ।
मुग्लिन–नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको थियो । त्यस्तै कालिगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा छ । बागलुङ नगरपालिका १३ कालाखोलामा पहिरो जाँदा उक्त करिडोर एकतर्फी सञ्चालनमा आएको हो।
