मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउनेक्रम जारी

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरो कारण सवारी साधनहरु अहिले सडकमै रोकिएका छन्। त्यसैले सवारी साधनहरुको लामो लाइन छ।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर बिहानै डोजरहरु प्रयोग गरेर ती पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम भने जारी छ। बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो। आज बिहानैबाट पहिरो पन्छाउने काम जारी छ।

सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुईदिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।