अर्थ मन्त्रालयमा आजदेखि डिजिटल टिप्पणी सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि डिजिटल टिप्पणी सुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले डिजिटल टिप्पणी सुरू भएको जानकारी गराएका हुन् ।

डिजिटल टिप्पणी सुरू हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो । यसले मुख्यतः तीनवटा प्रभाव पर्नेछन् । पहिलो, पटक–पटक कागज प्रिन्ट गर्ने काम गर्नुपरेन ।

दोस्रो, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा–कोठा चाहार्नुपर्ने छैन । डिजिटल सिस्टमबाट नै काम हुनेछ । तेस्रो, प्रक्रिया घटाउनेछ । कुनैपनि निर्णय वा काम गर्ने टिप्पणी कुन समयमा उठेको हो, सदर कहिले भएको हो, सबै प्रणालीमा बस्नेछ ।

पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो । अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि शुक्रबारबाट सुरू गरिएको हो ।