असोज १७ देखि २१ सम्म भीषण वर्षा हुने अनुमान

काठमाडौं । मौसमविद अबको केहि दिनमा भीषण बर्षाको अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको जानकारी दिएका हुन् । उनले असोज १७ देखि २१ सम्म अर्थात अक्टोबर ३ देखि ७ सम्म भारी वर्षा हुन सक्ने बताएका छन् ।

डा.पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ।

अहिले तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको छ। भोलिदेखि वर्षा हल्का मध्यम हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ। यात्रा गर्दा ध्यान दिनुहोला, भारी वर्षा लगभग ३-४ दिन सम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला।

मौसम पूर्वानुमान शाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी बर्षा भएको थियो। त्यस्तै भारतले असोज १७–१९ गतेसम्म सिक्किम,पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ।