यातायातमन्त्री घिसिङ भन्छन्-तोकिएभन्दा बढी भाडा असुले तत्काल कारबाही
काठमाडौं । यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने बताएका छन् ।
उनले स्वीकृत भाडादरभन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न यात्रुहरूलाई आह्वान गरेका हुन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै उनले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय समेत सम्हालेका घिसिङले हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री घिसिङको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरिएको छ।
यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न मन्त्री घिसिङले आग्रह गरेका छन्।

