दैनिक चारदेखि पाँच समूह नयाँ पार्टी खोल्न निर्वाचन आयोग धाउँछन्
काठमाडौं । गत भदौ २३-२४ गते भएको जेनजी प्रदर्शनपछि नेपालको राजनीतिक परिदृश्यमा ठूलो हलचल देखिएको छ । संसद् विघटन भएसँगै आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ।
यो अवस्थामा नयाँ राजनीतिक दलहरू दर्ता गर्ने प्रक्रियाले तीव्रता पाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दसैँ बिदा अघिसम्म दैनिक चारदेखि पाँचवटा समूह दल दर्ताको प्रक्रियाबारे बुझ्न आयोग पुग्ने गरेका छन्।
पछिल्लो प्रदर्शनबाट चर्चामा आएका केही युवाहरूले पनि दल दर्ताको प्रक्रियाबारे जानकारी लिएको आयोगले जनाएको छ। आयोगले दल दर्ताको प्रक्रियाबारे विस्तृत जानकारी दिएर समूहहरूलाई फर्काउने गरेको छ ।
दल दर्ताको कानुनी प्रक्रिया
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार राजनीतिक दल दर्ताका लागि स्पष्ट मापदण्ड तोकिएको छ । दल दर्ताको पहिलो सर्त हो– लोकतान्त्रिक विधान र नियमावलीसहित निर्वाचन आयोगमा दर्ता हुनुपर्ने । दलले पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन गर्नुपर्ने र त्यसो हुन नसकेमा छ महिनासम्म म्याद थप गर्न सकिने व्यवस्था छ ।
साथै, पार्टी कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । दल दर्ताका लागि विधान, नियमावली, घोषणापत्र, झण्डा, र चुनाव चिह्नको नमुना आयोगमा पेस गर्नुपर्छ । कम्तीमा ५०० जना नेपाली मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता पत्र र तिनको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि आवश्यक पर्छ ।
यस्ता व्यक्तिहरूले अर्को दलको सदस्य नभएको स्वघोषणा गर्नुपर्छ। दलले पेस गरेको निवेदनमा आयोगले ४५ दिनभित्र निर्णय लिनुपर्छ। यदि कागजातमा कमी भएमा १५ दिनभित्र सुधारका लागि समय दिइन्छ। विधान, नियमावली, र घोषणापत्रका प्रत्येक पृष्ठमा केन्द्रीय समितिका सबै पदाधिकारीको हस्ताक्षर अनिवार्य छ । दलको नाम, ठेगाना, झण्डा, लोगो, चुनाव चिह्न, केन्द्रीय समितिका पदाधिकारीको विवरण, आयश्रोतको कोष, र सम्पत्ति विवरण पनि पेस गर्नुपर्छ ।
चुनाव चिह्न र झण्डा
निर्वाचन आयोगसँग राजनीतिक दलहरूलाई प्रदान गर्न सकिने चुनाव चिह्नहरूको सूची छ। दलले मागेको चिह्न उपलब्ध नहुन पनि सक्छ । यस्तो अवस्थामा आयोगसँग रहेका र अन्य दललाई नदिइएका चिह्नहरू उपलब्ध गराइन्छ। संविधानले राष्ट्रिय स्तरका चिह्न, जातजातिसँग सम्बन्धित, वा कानुनले निषेध गरेका चिह्नबाहेकका चिह्न प्रदान गरिने प्रावधन रहेको छ । यदि दलको झण्डा वा चिह्न धार्मिक वा साम्प्रदायिक एकताविरुद्ध छ भने आयोगले त्यस्ता दल दर्ता गर्दैन ।
निर्वाचनको तयारी
आयोगको पछिल्लो अभिलेखअनुसार हाल १२२ वटा दल दर्ता छन् । फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ताको समय तोक्न छलफल भइरहेको छ । विगतमा, २०७९ मङ्सिर ४ को निर्वाचनअघि साउन १९ सम्म दल दर्ताको समय दिइएको थियो । त्यतिबेला ११६ दल दर्ता थिए, तर ८७ दलले मात्र चुनावमा भाग लिए । मतपत्र छपाइजस्ता व्यवस्थापनका लागि चुनावी प्रयोजनको छुट्टै दर्ता आवश्यक हुन्छ ।
निर्वाचन आयोगले नेपाल प्रजा परिषद् (विसं १९९३) लाई नेपालको पहिलो राजनीतिक दलको मान्यता दिएको छ । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नौवटा दल सहभागी थिए।
दल दर्ता र सदस्यताका सर्तहरू
राजनीतिक दलले १८ वर्ष नपुगेका व्यक्तिलाई सदस्य बनाउन पाउँदैन। भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध, सम्पत्ति शुद्धीकरण, वा अपहरणजस्ता फौजदारी कसुरमा सजाय पाएका व्यक्ति,साथै सरकारी कर्मचारी, प्राध्यापक, वा शिक्षकलाई पनि सदस्य बनाउन सकिँदैन।
दलहरूले नियमित विवरण अद्यावधिक नगरेमा वा लेखापरीक्षण प्रतिवेदन नबुझाएमा आयोगले दर्ता खारेज गर्न सक्छ। २०७८ साउनमा ४१ दलको दर्ता खारेज भएको थियो । खारेज भएको दलको चिह्न एक वर्षसम्म अर्को दललाई दिइँदैन।
