जेनजीका गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था मजबुत

काठमाडौं। जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।

संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी विद्रोहमा दमनकारी भुमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा तैनाथी बढाइएको हो।

जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्।

जेनजीको एक समूहले मंगलवार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरूको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराएको छ।

ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमवार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग छलफल समेत गरेकी थिइन्। यद्यपि प्रहरीले लिखित जवाफ माग गर्दै जाहेरी लिन नमानेको समेत बताइएको छ।