दशैंको बेला सुदूरपश्चिममा सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १२२ घाइते
धनगढी। सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन्।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)टेकबहादुर जोराले दुर्घटनामा आठ जनाको मृत्यु र एक सय २२ जना घाइते भएको बताए ।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१-२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ। कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु र ३७ घाइते भएका छन्।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु र १४ घाइते, दार्चुलामा एकको मृत्यु र १० जना घाइते,डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएपनि मृत्यु भने कसैको नभएको डीएसपी जोराले बताए। दशैंको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ।
आठ लाख ७३ हजार राजश्व संकलन
दशैंको अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट आठ लाख ७३ हजार राजश्व संकलन गरिएको छ।
प्रदेशका ९ वटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली चार लाख ६७ हजार र कञ्चनपुरमा एक लाख ३१ हजार राजश्व संकलन गरिएको छ।
बझाङमा ६५ हजार, डोटीमा ६४ हजार,डडेल्धुरा र बैतडीमा ३४/३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार राजश्व संकलन गरिएको छ।
