माओवादीसँग एकताबारे झलनाथको पत्र-‘कुबेलाको सहनाई नबजाऔं’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादीसँग पार्टी एकता गर्न नहुने बताएका छन् ।
समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका बेला पत्नीको उपचारका लागि भारतमा रहेका नेता खनालले आफ्नो धारणा सार्वजनिक गर्दै यतिबेला कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।
‘कमरेडहरु यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ,’ उनले भनेका छन् ।
साथै उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ ।’
खनाल यतिवेला भारतको दिल्लीमा छन् । जेनजी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएपछि खनाल उनको उपचारका क्रममा भारतमा रहेका हुन् । यहीबेला नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय काठमाडौँमा बसिरहेको छ।
बैठकमा पार्टी एकताबारे छलफल र गृहकार्य समेत भइरहेका बेला खनालले ‘कुबेलाको सहनाई नबजाऔं’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
खनालले सचिवालय बैठकलाई पठाएको पत्रमा जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतिर केन्द्रित हुँदै गएको बताएका छन् । ‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ’, खनालले पठाएको पत्रमा उल्लेख छ ।
साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

