टी-२० विश्वकप छनोटः नेपालको रोमाञ्चक जित,यूएई १ रनले पराजित
काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप तथा एसिया छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।
आज (आइतबार)भएको खेलमा नेपालले यूएईलाई एक रनले पराजित गरेको हो। १४१ रनको मध्यम लक्ष्य पछ्याएको यूएईले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनायो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन बनाए। त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।
