भोजपुरमा भरूवा बन्दुकसहित गोठाला पक्राउ
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ का ४० वर्षीय सचिन राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीको टोलीले राईलाई गएराति मध्यपहडि लोकमार्गस्थित हर्कटे सामुदायिक वनको आम्लाला टोलबाट पक्राउ गरेको हो ।
उनको साथबाट बारुद लोड गरेको भरुवा बन्दुक १ थान, दाप सहितको खुकुरी १ थान, प्लास्टिकको बोलभित्र धातुको छर्रा ९ वटा, धातुको सानो छर्रा ३८ थान, बारुद जस्तो कालो धुलो १६० ग्राम, सलाई २ बट्टा र निलो प्लास्टिकको टुक्रामा पोको बाँधेको केप ४ थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।
जङ्गलमा रहेको भेडा गोठका भेडाहरू जङ्गली जनावरले मार्दिन थालेपछि आफूले भेडा र आफ्नो सुरक्षाका लागि भरुवा बन्दुक बोकेर हिँडेको प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा राईले प्रहरीलाई बताएको समेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको छ।
