कम्युनिस्टहरूबीचको एकताबारे विप्लवले अघि सारे ५ बुँदे धारणा

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबीचको एकताबारे पाँचबुँदे धारणा सार्वजनिक गरेका छन्। कम्युनिष्ट एकताको आवश्यकता झनै बढेको बताउँदै उनले यसबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

समाजवादी मोर्चामा आबद्ध दलहरूबीच पार्टी एकताको चर्चा चलिराखेका बेला महासचिव विप्लवले आफ्नो पार्टीको ५ बुँदे धारणा अघि सारेका हुन्। विप्लव समाजवादी मोर्चाका संयोजक छन्।

यी हुन् विप्लवले अघि सारेका ५ बुँदे धारणा

१- कम्युनिस्टहरू बीचको एकता झनै बढेको छ।

२-एकता सङ्गठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुङ्गो लागिसकेको छैन।

३- यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ।

४- कम्तीमा कम्युनिस्टहरूबीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तर्विरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको सङ्घीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नु पर्छ।

५- देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनुपर्दछ।