गृहमन्त्रीले जेनजीका माग पूरा गर्न सकेनन्, निर्वाचनमा जाँदैनौँ: सुदन गुरुङ
काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै आन्दोलन नगरेको बताएका छन् ।
गुरुङले आफ्ना मागहरू पूरा नभईकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाइतेका मागहरू पूरा हुनुपर्ने बताए । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेनजी आन्दोलनले न्याय पाउनुपर्ने उनको माग छ।
उनले भने, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो।
अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ। न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ? हाम्रा प्रतिबद्धता पूरा हुन्। हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन।
