लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य: प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन राष्ट्रलाई संवैधानिक अस्थिरताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताएका छिन्। प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठकमा सम्बोधन गर्दै सबै राजनीतिक दललाई समयमै निर्वाचन प्रक्रियामा सहभागी हुन र संवैधानिक जिम्मेवारी पूरा गर्न आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले युवा आन्दोलन र जनमतको ऐतिहासिक सन्देशका आधारमा प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणागरिएको भन्दै, यसलाई राष्ट्रलाई संवैधानिक सङ्कटबाट जोगाउने अनिवार्य कदम भएको स्पष्ट पारीन्। उनले भनिन,निर्वाचनको अनिवार्यतामा हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोज्नेछ।

उनले निर्वाचनको निष्पक्षता, मितव्ययिता र सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक सबै तयारी गरेको बताइन्। प्रचार अवधि सीमित गर्ने, सुरक्षाको ‘हट–स्पट’ व्यवस्थापन, संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन र राजनीतिक हिंसा रोकथामका लागि ट्र्याक–टु संवाद पहल भइरहेको उनले जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले दलहरूको विश्वास र सहभागीता बिना चुनाव असम्भव हुने भन्दै, मङ्सिर १० भित्र निर्वाचन आयोगमा दल दर्ता गर्न सबैलाई आग्रह गरीन् । उनले स्पष्ट गरीन् कि राजनीतिक अस्थिरतालाई स्थायी निकास दिन निर्वाचन अपरिहार्य छ र यसमा देशभरका नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सुनिश्चित गरिनेछ।

प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक स्थिरता, जनमतको सम्मान र संवैधानिक दायित्वको पालनाका लागि आगामी निर्वाचन अनिवार्य र राष्ट्रको प्राथमिकता भएको औँल्याइन्।