सिमरामा झडपपछि गृहको ध्यानाकर्षण,कार्यक्रमका लागि प्रशासनसँग समन्वय आवश्यक

काठमाडौँ । गृह मन्त्रालयले बाराको सिमरामा नेकपा एमाले कार्यकर्ता र जेनजी युवाबीच भएको झडपप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्यका अनुसार स्थानीय प्रशासनले तनावको अवस्था सामान्य पार्दै शान्ति सुरक्षा कायम राख्न आवश्यक पहल गरिरहेको छ।

मन्त्रालयले हाल स्थिति सामान्य बन्दै गएको जानकारी दिंदै सबै पक्षलाई कार्यक्रम अघि स्थानीय प्रशासनसँग समन्वय गरेर संयमता अपनाउन अपिल गरेको छ । गृह मन्त्रालयले भन्यो,शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि संयमता, समझदारी, संवाद र सहमति आवश्यक छ।

बाराको सिमरामा बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल , नेता महेश बस्नेत लगायतको सहभागितामा जिल्ला पार्टीले कार्यक्रम आयोजना गर्न लागेको थियो। तर, एमाले नेताहरूको आगमन थाहा पाएपछि स्थानीय जेनजी युवाहरूले विरोध प्रदर्शन सुरु गर्दा विमानस्थल क्षेत्रमा मुडभेड भएको थियो।

गृह मन्त्रालयले सबैलाई शान्तिपूर्वक कार्यक्रम सञ्चालनगर्न प्रशासनसँग समन्वय गर्न र आपसी विवादबाट बच्न हार्दिक अपिल गरेको छ। साथै, सरकारले तोकिएको मितिमा निर्वाचन गराउन प्रतिबद्धता जनाउँदै, सबै पक्षबीच संवाद, समन्वय र सहयोग अपरिहार्य भएको उल्लेख गरेको छ।