देश ठूलो कि दल र व्यक्तिगत स्वार्थ ? नेपालीले सोचौं एकपटक

नेपालमा वि.सं. १९०३ देखि २००७ सालसम्म राणा शासनकाल रह्यो । त्यतिबेलाको सरकारले हाम्रो एक इन्च भूभाग पनि कसैलाई मिच्न वा कब्जा गर्न दिएको थिएन । विदेशी ऋण एक सुको थिएन । नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो । कोही पनि नेपाली कामको निम्ति विदेशिनु परेको थिएन ।

सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी, वनजंगललगायतको जग्गा अतिक्रमण भएको थिएन भने खोला, नदी, ढुंगेधारा, तालपोखरी, पार्टी पौवा, चौतारा, मठमन्दिरलगायतको जग्गा पनि कब्जा भएको थिएन । २००७ सालमा राणा शासनको अन्त्य भई पञ्चायती व्यवस्था आयो । त्यसपछि ०४६ सालमा बहुदलीय व्यवस्था आयो ।

०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्रको अन्त्य हुँदै लोकतन्त्र गणतन्त्र आयो । विभिन्न मितिमा भएको यो परिवर्तनका निम्ति हजारौं शहिद भएका छन् । खर्बौको सरकारी सम्पत्ति नासिएको छ भने शहिद र घाइतेलाई रान्यको ढुकुटीबाट खर्बौ बाँडिएको छ । लोकतन्त्र गणतन्त्र आएपछि जनताका छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री भए ।

तर, हाम्रो देशको भूभाग कब्जा हुँदै गएको अवस्था छ । छिमेक भारत र चीनले नेपाली भूभाग दार्जिलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत थुप्रै भूभाग कब्जा गरेका छन् । अहिले वैदेशिक ऋण मात्रै २९ खर्ब ४२ अर्ब पुगेको छ । दैनिक तीन हजार नेपालीहरु रोजगारीका निम्ति खाडी गइरहेका छन् ।

देशभित्रै खान नपाएर वा गरिबका कारण आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । हाम्रो खेतीयोग्य जमिन सबै घर र बाटो बनाउँदा मासिएको छ। यदि विदेशीले खाद्यान्न नदिने हो भने हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने छ । ७४ जिल्ला रित्तो भएका छन् भने तीन जिल्ला अर्थात् काठमाडौं उपत्यकामा मान्छेको कोचाकोच छ ।

गाउँका खेतीयोग्य जमिन बाँझो छन् । घर, मतानमा ताल्चा झुण्डाइएको छ । अनि उपत्यकामा चाँहि एउटै कोठाको दशौं हजार रुपैयाँ भाडा । दलाल, भूमाफियाहरुले आफ्नो स्वार्थका निम्ति खेतीयोग्य जमिन सबै सिद्धाए । रोपनीको दश हजारमा नबिक्ने जकिन डोजर चलाई टुक्राटुक्रा बनाएर आनाकै लाखौंदेखि करोडौंमा बेचे । एक रोपनीमा १६ आना हुन्छ ।

गाउँ रित्तिएको फाइदा उपत्यकाका घरधनीहरुलाई भयो । कोठा, फ्ल्याट, सटरको निम्ति यहाँ हानाथाप चल्यो । अनि घरधनीहरु जसले मागेजति भाडा दिन्छ, उसैलाई कोठा दिने । एउटै कोठाको पाँच हजारदेखि २० हजारसम्म मासिक भाडा असुल्ने । सटर ३० हजारदेखि २० लाख र फ्ल्याट २५ हजारदेखि तीन लाख भाडामा लगाउने । खाली सटर त २० लाखदेखि ६० लाखमा किनबेच गर्ने ।

राज्यको सम्पत्ति सबै दोहन भएको छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारी, कानून व्यवसायी, दलाल, भूमाफियाहरुको मिलीभगतमा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढीमा, तालपोखरी, मठमन्दिर, खोला, नदी, वनजंगललगायतका जग्गा व्यक्तिका नाममा लगियो। अहिले व्यक्ति धनी भए, राज्य कंगाल ।

अब जनताले सोचौं कि लोकतन्त्र गणतन्त्रपछि देशमा विकास भयो कि विनाश । सरकार देशभित्रै ऋणमा छ । निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालको २४ अर्ब भुक्तानी नदिएको वर्षौ बितिसक्यो । अनि यति ऋण तिर्न नसक्ने सरकारले वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब कहाँबाट ल्याएर तिर्ला ?

यसबाटै थाहा हुन्छ कि अब देश संकटमा परिसक्यो । नेपाल अब नेपाल रहँदैन । ऋण दिएको देशले जुनसुकै बेला हाम्रो देश कब्जा गर्न सक्छ । विगतमा राजतन्त्र फाल्न राजनीतिक दलका नेताहरुले भारतमा बसेर चाल चले । भारतमा लुकेर यहाँ व्यवस्था परिवर्तन गरे । नेताहरुसँग नेपाली नागरिकता थियो । उनीहरु नेपाली थिए ।

तर, भारतका नेताहरुको लहैलहैमा लागेर उनीहरुले यहाँ व्यवस्था परिवर्तन गरे । त्यसपछि पनि तिनीहरुकै कुरा सुने । अहिले त्यसको परिणामस्वरुप हाम्रो देश कंगाल भएको छ । हामीसँग अहिले केही छैन । भारतका नेताहरुले हाम्रा नेताहरुलाई हातमा लिएर यहाँका उद्योग, कलकारखाना बन्द गर्न लगाए । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन लगाए ।

उनीहरुले जे जे भन्दै गए, हाम्रा नेताहरुले त्यही त्यही गर्दै गए । अहिले भारत हामीलाई खाद्यान्नलगायत सामग्री बेचेर धनी बन्यो । ऊ हरेक वस्तुमा आत्मनिर्भर छ । हामी चाँहि नुनदेखि गुन्द्रकसम्ममा अर्काको भरमा पर्नुपरेको छ । यही सामान ल्याउँदाल्याउँदै देशले विदेशी ऋणको भारीसमेत बोक्नुपर्यो । अब त्यत्रो ऋण कसरी तिर्ने ?

अर्कोकुरा, छिमेकीले कब्जा गरेको भूभाग कसरी फिर्ता ल्याउने ? सरकारी खर्च कसरी धान्ने ? देशमा परिवर्तन त भयो । तर, गाडी चलाउन नसक्नेहरुलाई देशको ड्राइभिङ सिटमा पुर्याउँदा आज मुलुक यस्तो अवस्थामा पुग्यो । जनता पनि नेताको पछिपछि लागे । जसले मासुभात, पैसा दिन्छ, उसैलाई भोट । जनता व्यक्तिगत स्वार्थमा लागे ।

छिमेकको भन्दा ठूलो घर, छोराछोरीलाई अमेरिका अस्ट्रेलिया पठाउन, मिठोमिठो खान र चिल्लो गाडी चढ्नमै व्यस्त भए त त्यसका निम्ति जेसुकै पनि गरे । जनताले देशभन्दा व्यक्तिगत स्वार्थलाई अघि राख्दा आज हाम्रो स्वर्गजस्तो मुलुक नर्क बन्न पुगेको छ ।

इतिहासमा कसैले कब्जा गर्न नसकेको देश आज छिमेकीले जुनसुकै बेला हड्पनसक्ने अवस्था छ । अनि आखिर हामीले देशलाई के दिएछौं त? राजनीतिक दलका नेताहरु विशेषतः ओली, प्रचण्ड, देउवा, नेपाल, खनाल, भट्टराईलाई बुढ्यौली लागिसक्यो । अब यिनीहरुले केही पनि गर्न सक्नेछन् ।

आफ्नो जीऊ बोक्ने नसक्नेहरुले अब देशको भार कसरी बोक्छन् ? त्यसकारण अब पनि नेताहरुबाट विकास हुन्छ भनेर आशा राख्नु नै मुर्खता हो । अब देश बनाउन सबै नेपाली जनता एकजुट हुनुपर्छ । व्यक्तिगत स्वार्थमा होइन, राष्ट्रिय स्वार्थमा जनता निहित हुनुपर्छ । जनता मिलेपछि न यहाँ विकास रोकिन सक्छ न विदेशीले हाम्रो भूभाग कब्जा गर्न सक्छ ।

त्यसकारण जतिसक्दो चाँडो जनता एकजुट हुन्छन्, देशका लागि गर्नुपर्ने बेला आयो भनेर सोच्छन्, त्यति नै छिटो मुलुकमा विकास हुनेछ । जनताले अब दलको कार्यकर्ता भएर सोच्ने होइन, नेपाल आमाको छोराछोरी वा सन्तान भएर सोच्ने हो । राजनीतिक दलहरुले देश बेचेर खाए । अब जनताले हामी देशलाई पुनःस्थापना गराउनुपर्छ ।

विदेशी ऋणमुक्त बनाउनुपर्छ । दोहन भएका राज्यका सम्पत्तिको संरक्षण वा फिर्ता ल्याउनु छ त कब्जा भएका नेपाली भूभाग फिर्ता ल्याउनु छ। त्यसकारण अब जनता जुट्यौं । दिनमा एक मिनेट देशका निम्ति सोचौं र केही गरौं । सञ्चारकर्मीहरु पनि दलभन्दा देशको हौं । पार्टीको झोले भएर समाचार नलेखौं । नेपाली भएर समाचार लेखौं र सम्प्रेषण गरौं ।