अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

चितवन। मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना मंगलबार शुरु हुँदैछ। चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना शुरु गर्न थालिएको हो ।
वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग छ। त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रूपमा परिचालित हुने गरेका छन् ।
जम्मा २५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ। गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन हुने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिए।
निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब तीन करोड खर्च लाग्ने बताइएको छ। त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो। प्रतिक्यामेराको मूल्य करिब ३५ हजार रुपैयाँ छ।
नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो। यो गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए। त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो ।
सन् २००९ यता हरेक चार वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ। बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ। अहिले सन् २०२६ का लागि गणना हुन लागेको हो।
