काठमाडौंमा स्पा व्यवसायको कालो धन्दा: बालिका शोषणदेखि प्रहरी सेटिङसम्म

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो समय मसाज र स्पा सेन्टरको नाममा अवैध यौनजन्य गतिविधि तीव्र रूपमा बढ्दै गएको खुलासा भएको छ। विशेषगरी उच्च शिक्षा हासिल गर्न राजधानी आएका आर्थिक रूपमा कमजोर परिवारका बालबालिका तथा किशोरीहरूलाई प्रयोग गरी छोटो समयमै ठूलो आम्दानी गर्ने धन्दामा केही स्पा सेन्टर संलग्न रहेको आरोपले समाजलाई गम्भीर चिन्तामा पारेको छ। यसले राजधानीभित्र संगठित रूपमा बालअधिकार उल्लंघन र यौन शोषण भइरहेको संकेत गरेको छ।

यसै क्रममा काठमाडौं महानगरपालिका–६ अन्तर्गत बौद्ध बाहुनधारामा सञ्चालित भीआईपी स्पा एण्ड हेल्थ क्लबमा बालबालिका र किशोरीहरूलाई प्रयोग गर्दै यौनजन्य अश्लील गतिविधि सञ्चालन गरिरहेको गम्भीर आरोपको लागेको छ। स्थानीयवासी तथा सोही स्पामा कार्यरत कर्मचारीहरूका अनुसार, उक्त स्पाले सामाजिक सञ्जाल टिकटकलाई मुख्य माध्यम बनाएर बालिकाहरूलाई अश्लील हाउभाउ गर्न लगाई प्रचारप्रसार गर्दै आएको देखिन्छ। यसरी तयार गरिएका भिडियोमार्फत ग्राहक आकर्षित गरी स्पाभित्र यौनजन्य गतिविधि गराउने गरिएको उनीहरूको दाबी छ।

स्पामा कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा बताएअनुसार, त्यहाँ भइरहेको गतिविधि बाहिर ल्याउन खोज्नेबित्तिकै कामबाट निकाल्ने, मानसिक दबाब दिने र विभिन्न किसिमका धम्कीसमेत दिइने गरिएको छ। उनका अनुसार धेरैजसो बालिका तथा किशोरीहरूलाई कुनै नियुक्तिपत्र नदिई, निश्चित तलबसमेत नतोकी केवल कमिसनको भरमा काम गर्न बाध्य बनाइएको छ। यसले उनीहरूलाई श्रम शोषणसँगै गम्भीर यौन शोषणको जोखिममा पारेको छ।

स्पा आसपासका व्यापारीहरूले दिएको जानकारीअनुसार, भीआईपी स्पामा दैनिक रूपमा ५० देखि १०० जनासम्म ग्राहक आउने गरेका छन्। तीमध्ये अधिकांश ग्राहक स्वास्थ्य सेवा वा मसाजका लागि नभई पछिल्लो समय खुलेआम चर्चामा रहेको ‘ह्याप्पी इन्डिङ’ सेवाका लागि आउने गरेको बताइएको छ। यसले स्पा र मसाज स्वास्थ्य सेवाको आवरणमा अवैध यौन धन्दा सञ्चालन भइरहेको आशंकालाई थप बलियो बनाएको छ।

सबैभन्दा चिन्ताजनक विषय भनेको बौद्ध प्रहरी वृत्त र प्रहरी बिट नजिकै रहेको उक्त स्पामा यस्ता गतिविधि खुलेआम भइरहेको भनिँदा पनि प्रहरी प्रशासन मौन देखिनु हो। कर्मचारी तथा स्रोतहरूको दाबीअनुसार, प्रहरीका हाकिमदेखि घुमुवासम्म स्पामा पुग्ने, सेवा लिने र मासिक रूपमा ‘नजराना’समेत बुझ्ने गरिएको आरोप छ। यदि यी आरोप सत्य ठहरिए भने, यो अवैध धन्दा मात्र नभई राज्य संयन्त्रकै संरक्षणमा चलिरहेको संगठित अपराध भएको गम्भीर प्रश्न उठ्छ।

स्थानीयवासीहरू भन्छन्, मासिक रकम बुझेकै भरमा प्रहरीले यस्तो धन्दा चल्न दिएको हो भने समाजमा विकृति, अपराध र नैतिक पतन अझै बढ्ने निश्चित छ। उनीहरूले निष्पक्ष छानबिन गरी दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।

स्रोतका अनुसार, भीआईपी स्पाले पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शाखा विस्तार गर्दै यौनजन्य गतिविधि सञ्चालन गरिरहेको छ। ती स्पाहरूले सञ्चालन गर्ने सामाजिक सञ्जालमार्फत समेत बालिका तथा किशोरीहरूलाई अश्लील गतिविधि गर्न लगाइने गरेको बुझिन्छ, जसले यो धन्दा व्यक्तिगत नभई संगठित नेटवर्कका रूपमा फैलिँदै गएको संकेत गर्दछ।

बालिका र किशोरीहरू अहिले दोहोरो पीडामा परेका छन्। एकातिर आर्थिक अभावका कारण काम गर्न बाध्य हुनुपरेको छ भने अर्कोतिर समाज, परिवारको डर र भविष्यप्रतिको अनिश्चितताले उनीहरू मौन रहन विवश छन्। यही मौनताले उनीहरूलाई झनै गहिरो यौन शोषणको दलदलमा धकेलिरहेको देखिएको छ।

धन्दा भक्तपुरसम्म फैलिएको दाबीसमेत गरिएको छ। स्रोतका अनुसार, भीआईपी स्पाले भक्तपुरको राधेराधे–भाटभेटनी नजिकै रहेको एक भवनमा राति १२ बजेसम्म अश्लील गतिविधि सञ्चालन गर्दै आएको छ। उक्त गतिविधि भक्तपुर प्रहरीको ‘सेटिङ’मै चलिरहेको आरोप पनि उठेको छ।

मसाज र स्पाको नाममा बालबालिका तथा किशोरीहरूको यौन शोषण भइरहेको यी गम्भीर आरोपहरूले प्रहरी प्रशासन, स्थानीय सरकार र सम्बन्धित निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। पीडितको सुरक्षा, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही नभएसम्म यस्तो अवैध धन्दा अझै मौलाउँदै जाने चेतावनी देखिएकाे छ।