नेफ्स्कुनको वित्तीय प्रतिवेदन शंकास्पद, २ अर्ब बराबरको गैरबैंकिङ सम्पत्तिमा प्रश्न

काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले फेरि पनि वित्तीय विवरणमा वास्तविकता लुकाइ जालझेल गरेको छ।

अघिल्ला वर्षहरूमा पनि खराब कर्जाबापत ‘प्रोभिजनिङ’ कम गरेर नक्कली नाफा देखाएको नेफ्स्कुनले यसपालि लेखा परीक्षकलाई नै प्रभावमा पारेर आफूअनुकूल प्रतिवेदन तयार गरेको भेटिएको हो।

संस्थाको वित्तीय अवस्था वास्तविकभन्दा राम्रो देखाउन खराब कर्जा, गैरबैंकिङ सम्पत्ति तथा कर्जा नोक्सानी व्यवस्था पालनामा जालझेल गरेको पुष्टि भएको हो।

विगत दुई वर्षसम्म कर्जा नेक्सानी व्यवस्था (एलएलपी)गर्नुपर्ने भन्दा कम गरेर नक्कली नाफा देखाएको नेफ्स्कुनले यसपालि भने यही कुरा लुकाउन गैरबैंकिङ सम्पत्ति सिधै सकार गरेको देखाएको छ।

तर, त्यसरी गैरबैंकिङ सकार्दा नेपाल वित्तीय प्रतिवेदन मानले तोकेभन्दा आधा नोक्सानी व्यवस्था गरेको छ । साथै, सीमित मात्रामा भए पनि एलएलपी बुक गर्दा रिटेन अर्निङ ९० करोड रुपैयाँले ऋणात्मक छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा संघले १ अर्ब ६४ करोड रुपैयाँ बराबर धितो सकारी गैरबैंकिङ सम्पत्तिमा लेखांकन गरेको छ । साथै, संघले उक्त गैरबैंकिङ सम्पत्तिको ५० प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरेको हो ।

संस्थाको लेखा परीक्षकले नै एनएफआरएसको ‘एक्सपेक्टेड क्रेडिट लस’ (ईसीएल) मोेडेल र सहकारी प्राधिकरणको निर्देशन अनुसार ‘इम्पेयरमेन्ट लस’ हेर्दा जुन धेरै हुन्छ, त्यसैलाई गणना गर्नुपर्ने उल्लेख गरेको छ ।

एनफआरएसमा सकार गरेको गैरबैंकिङ सम्पत्ति बापत शतप्रतिशत एलएलपी राख्नुपर्ने व्यवस्था छ । तर, राष्ट्रिय सहकारी प्राधिकरणको गत महिना मात्रै संशोधन गरेको निर्देशनका आधारमा नेफ्स्कुनले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणमै तलमाथि गरेको छ । यसरी संघको वित्तीय विवरण बनाउँदा नियम कानुनकै अपव्याख्या गरेको देखिन्छ ।

अघिल्लो आव २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार संघले ४ अर्ब १७ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा नगरेको भन्दै लेखा परीक्षकले विपरीत राय दिएको थियो ।

यसबीच गत आव संघले कुनै पनि कर्जा अपलेखन गरेको छैन । कर्जा नोक्सानी व्यवस्थामा राखिएको कुनै रकम फिर्ता भए पनि विवरणमा देखिँदैन ।

संघले गत आव २०८१/८२ मा ५५ करोड ६८ लाख थप कर्जा नोक्सानी व्यवस्था गरेको छ । यस्तो अवस्थामा अझै पनि कर्जा नोक्सानी व्यवस्था बापत ३ अर्ब ६१ करोड रुपैयाँ राखेको देखिँदैन ।

तर, त्यो रकम प्रोभिजनिङ नै नगराइ लेखा परीक्षकले ‘शतप्रतिशत प्रोभिजनिङ भएको’ प्रतिवेदन तयार गरिदिएका छन् । यस सम्बन्धमा लेखा परीक्षक सीए राजन अधिकारीसँग कुरा गर्दा कर्जा असुली भएको र गैरबैंकिङ सम्पत्ति बढेकाले खराब कर्जा घटेको बताए । संघले अघिल्लो आवको तुलनामा कर्जा नोक्सानी गर्नुपर्ने अवस्था नभएको पनि उनले स्पष्ट पारे ।

संघमा राजनीतिक प्रभाव तथा सञ्चालकहरूको मनोमानीमा कारोबार गर्दा खराब कर्जा चुलिएको छ । आव २०७९/८० र २०८०/८१ मा लेखा परीक्षकले यही कारण ‘एडभर्स’ राय दिएका थिए ।

अझै अघिल्लो साल एडभर्स राय दिने लेखा परीक्षक त अधिकारी नै हुन् । तर, अवस्थामा खास सुधार नभए पनि २०८१/८२ मा सुधार भएको भन्दै कैफियत सहित प्रतिवेदन अहिले लेखा परीक्षकले दिएका छन् ।

यसरी लेखा परीक्षकलाई प्रभावमा पारेर कमजोरी लुकाउने प्रयास गर्दा संस्थामा रहेको २० अर्ब ६५ करोड रुपैयाँ बचत रकम नै जोखिममा पारेको स्पष्ट हुने नेफ्स्कुनका एक अधिकारीले बताए ।

‘अहिले तथ्यांक लुकाइ प्रतिवेदन तयार परेर बचतकर्तालाई भ्रममा राख्ने प्रयास गरिएको छ,’ ती अधिकारीले भने, ‘अनियमितता गर्ने अनि तथ्यांक लुकाउने समस्याले आगामी दिनमा झनै ठूलो समस्या आउने निश्चित छ ।’

आव २०७९/८० र २०८०/८१ मा संघको वित्तीय विवरण उपर लेखा परीक्षकले विपरीत अर्थात एडभर्स राय दिएको थियो । तर, गत आव केही सुधार देखिए पनि वित्तीय विवरणमा जालझेल देखिन्छ । गत आव पनि लेखा परीक्षकले संघको वित्तीय विवरणमा कैफियत देखाएको छ ।

आव २०७९/८० मा संघले सम्भावित कर्जा नोक्सानी व्यवस्थामा ५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ छुट्याउनु पर्ने भए पनि ४२ करोड ४२ लाख मात्रै छुट्याएको थियो ।

त्यसैगरी २०८०/८१ मा पनि संघले ४ अर्ब १७ करोड १० लाख ९० हजार कुल कर्जा नोक्सानी व्यवस्था आवश्यक भए पनि संघले जम्मा ५१ करोड ४० लाख १९ हजार मात्रै कर्जा नोक्सानी व्यवस्था गरेको थियो ।

२०८१/८२ मा संघले ५५ करोड ६८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । हालसम्म संघको कर्जा नोक्सानी व्यवस्था बापत कुल रकम १ अर्ब ७ करोड पुगेको छ ।

संघले गत आव शतप्रतिशत कर्जा नोक्सानी छुट्याएको दाबी गरेको छ । संघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सुधार प्रयास गरिरहेको बताए । विगतको तुलनामा कर्जा असुली र धितो सकार बढेको तथा कर्जा नोक्सानी पनि तोकिए अनुसार नै गरिएको उनको दाबी छ ।

‘विगतका समस्या पूर्णरूपमा समाधान भएको भन्न मिल्ने अवस्था छैन, तर सुधार हुने क्रम जारी छ,’ ढकालले भने ।

आव २०८०/८१ अन्त्यमा ऋण असुली हुन नसकी विभिन्न संस्थाले दिएको धितो सकार गरी जम्मा ६६ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबर गैरबैंकिङ सम्पत्ति थियो ।

आव २०८१/८२ मा १ अर्ब ६४ करोड ८० लाख थप भई २ अर्ब ३१ करोड ४३ लाख ६२ हजार बराबर कायम भएको छ। संघको गैरबैंकिङ सम्पत्ति कुल सम्पत्तिको ९.८८ प्रतिशत हो।

चालु आवमा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलाई प्राथमिकता दिने छुट्टै इकाइ स्थापना गरेर काम गर्दै आएको संघले जनाएको छ।

२०८२ कात्तिक मसान्तसम्म १८ करोड ८८ लाख बराबर गैरबैंकिङ सम्पत्ति बिक्री भइसकेको संघले जनाएको छ। २०८१/८२ का लागि गैरबैंकिङ सम्पत्तिमा ५० प्रतिशत नोक्सानी व्यवस्था गरे हुने राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्देशन अनुसार १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ सोही शीर्षकमा छुट्याएको छ ।

गत आव संघ ९० करोड ५९ लाख रुपैयाँ नोक्सानीमा छ । अघिल्लो आव संघले १२ करोड ८७ लाख रुपैयाँ खुद नाफा देखाएको थियो । १ अर्ब ४३ करोड चुक्ता पूँजी रहेको संघको सञ्चिति कोषमा ५३ करोड रुपैयाँ छ । गत आवको नाफा बराबर संघको रिटेन अर्निङ ऋणात्मक छ।