नेकपाको समानुपातिक उम्मेदवार प्रचण्ड र माधवले छान्ने

काठमाडौं। एक महिनाअघि गठन भएको नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले आजसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको छ। नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाएर समानुपातिक सूची तयार गर्ने जिम्मा प्रचण्ड र माधवलाई दिएको हो।

देशका ७७ वटै जिल्लाबाट समानुपातिक उम्मेदवारको नामावली आएको र उक्त सूचीलाई अन्तिम रूप दिएर आजै निर्वाचन आयोगमा बुझाउने नेता शक्ति बस्नेतले जानकारी दिए । प्रतिनिधिसभामा समानुपातिकबाट ११० सदस्य छनोट हुने संवैधानिक व्यवस्था छ।