यूएई रोजगारीमा प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १४ हजार बढी शुल्क
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स यूएईले नेपालबाट रोजगारीमा जाने श्रमिकका लागि प्रहरी रिपोर्ट पीसीसी प्रमाणीकरण अनिवार्य गर्दै प्रतिव्यक्ति १४ हजार २ सय रुपैयाँ अतिरिक्त शुल्क लिन थालेको छ।
जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै यूएईले प्रहरी रिपोर्टलाई आफ्नो परराष्ट्र मन्त्रालयबाट समेत प्रमाणीकरण गराउनुपर्ने व्यवस्था लागू गरेको हो। नेपालमा यो प्रक्रिया भीएफएसमार्फत गरिँदै आएको छ। यसअघि कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएपछि भिसा जारी हुने व्यवस्था थियो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले यसलाई श्रमिकमाथिको अनावश्यक आर्थिक बोझ र संस्थागत लुटको संज्ञा दिएका छन्। उनका अनुसार वार्षिक यूएई जाने करिब १ लाख ७७ हजार नेपाली श्रमिकबाट प्रहरी रिपोर्ट प्रमाणीकरणकै नाममा अर्बौँ रुपैयाँ बाहिरिन सक्ने अवस्था छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको बताए पनि यूएईतर्फबाट अहिलेसम्म ठोस जवाफ आएको छैन। श्रम विज्ञहरूले एकतर्फी रूपमा यस्तो शुल्क लगाउनु गलत भएको भन्दै नेपाल सरकारले कडा कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
