मलेसिया जाने बढे,अभिमुखीकरण तालिम दिने संस्था थपिँदै
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको संख्यामा उल्लेख्य वृद्धि भएपछि सरकारले मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या थप गर्ने भएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका तालिम प्रदायक संस्थाहरू मात्रै मलेसिया जाने कामदारलाई तालिम दिन अपुग देखिएकाले नयाँ संस्थाहरूलाई अनुमति दिन लागिएको जनाएको हो।
हाल अन्य देशका लागि तालिम सञ्चालन गरिरहेका तर, मलेसिया क्लष्टरमा स्थानान्तरण हुन चाहने इच्छुक संस्थाहरूलाई ३ दिनभित्र निवेदन दिन आह्वान गरिएको छ।
विभागका अनुसार मलेसिया जाने कामदारको संख्या दिनप्रतिदिन बढ्दै जाँदा हालका तालिम केन्द्रहरूमा अत्यधिक चाप परेको छ। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ को मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।
निवेदनका लागि मलेसियाको पाठ्यक्रम र तोकिएको योग्यता भएको प्रशिक्षकको बायोडाटा, विगतमा सञ्चालन गरेको तालिमका सम्बन्धमा विभागको अभिलेखमा कुनै कैफियत नदेखिएको स्वघोषणा र क्लष्टर परिवर्तन गर्न चाहेको कारणसहितको निवेदन दिनुपर्ने विभागले जनाएको छ ।
