प्रहरीको हतियार लुटपाट तथा आगजनी गरेका दुई जना पक्राउ

पर्वत। गत भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा भदौ २४ गते राती कास्की प्रहरीको हतियार लुटेको तथा आगजनी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार महोत्तरी जिल्ला घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँ बजारमा बस्दै आएका १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटमा बस्दै आएको १८ वर्षीय राज कुमार रहेका छन्।

पोखरा महानगरपालिका–२ भिमसेन टोलस्थित हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। खोजतलासको क्रममा गत माघ १९ गते उनीहरू दुई जना पक्राउ परे।

प्रहरीसँगको बयानको क्रममा उनीहरूले जेन जी आन्दोलनको क्रममा दुवै जना मिली प्रहरी कार्यालयबाट उक्त हतियार लुटेर लगेको र पोखरा महानगरपालिका–२ भिमसेनटोस्थित इन्द्र बहादुर भारीको घर टहरोमा रहेको दाउरामा लुकाई छिपाई राखेको बताएका थिए। लगत्तै प्रहरीले उक्त स्थानमा छापा मार्दा आर.आई.एफ.एल.ई.५.५६ एम.एम एम.३२२६ लेखिएको ईन्सास राइफल बरामद भएको थियो।

लगत्तै उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा छ दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।