अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा
अर्घाखाँची । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन्। विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्प्रधामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए।
अर्घाखाँची जिल्लाका नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी, नेकपाका उम्मेदवार जिल्लामै बसेर सङ्गठन निर्माण तथा विकास निर्माणका काम गरेका उम्मेदवार छन् ।
दलहरु घरदैलो तथा निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । जनतालाई भेटेर आफू र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन उनीहरु जिल्लाका गाउँ केन्द्रित अभियानमा छन्।
यस क्षेत्रमा विगतदेखि नै नेकपा एमाले विजयी हुँदै आएकोले आफ्नो बर्चस्व कायम राख्ने दाउमा छ भने अरु पार्टीले पनि अहिले परिवर्तनको सन्देश दिने उद्देश्यका साथ लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा र नेकपा पनि जित्ने दाबी गर्दै चुनावी अभियान अघि सारेका छन्।
पहिला दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले एउटा मात्र छ । विसं २०४६ र २०५१ का निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो। दुइपटक नै एकबाट रेवतीप्रसाद भुसाल र दुईबाट स्वर्गीय ढुण्डीराज शास्त्रीले जितेका थिए। २०५६ सालमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेलपछि एकमा राजमोका डिलाराम आचार्य र दुईमा नेकपा एमालेका डिल्लीराज खनालले विजय हासिल गरेका थिए।
विसं २०६४ मा निर्वाचन क्षेत्र नं १ मा तत्कालीन माओवादीका टोपबहादुर रायमाझी र २ मा पुष्पा भुसालले जिते भने २०७० मा १ मा माओवादीका टोपबहादुर रायमाझी र २ मा नेकपा एमालेका स्व दुमन सिंह थापाले।
त्यसैगरी विसं २०७४ को निर्वाचनमा अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र कायम भयो । उक्त निर्वाचनमा नेकपा माओवादी र एमालेको गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझी विजयी भएका थिए।
विसं २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी भए । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल ९गौतम०लाई एक हजार ७३० मतान्तरले पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन्।
विसं २०७९ को निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा १० हजारभन्दा बढी मतले अगाडि छ । उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो ।
नेपाली कांग्रेसले २६ हजार ८६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै आठ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो भने नेकपा माओवादी केन्द्रले सात हजार ३४२ मत ल्याउँदै चौथो भएको थियो । राष्ट्रिय जनमोर्चाले पाँच हजार ३२७ मत र नेकपा ९एकिकृत समाजवादी०ले एक हजार ६७ मत ल्याएको थियो ।
उक्त निर्वाचनमा एमाले एक्लै र नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी प्रतिस्पर्धा गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा यस पटकअर्थात् यही फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा एमालेबाट पीताम्बर भुसालको उम्मेदवारी परेको छ ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार छन्।
त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पार्टीबाट सूर्यबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णुबहादुर गाहा तथा पम्फा श्रेष्ठ र हिमाल भुसाल स्वतन्त्र उम्मेदवार छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कूल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिए। जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् ।
