टी-२० विश्वकप: इंग्ल्यान्ड नेपालको पहिलो चुनौती
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप २०२६ यही फेब्रअरी ७ बाट भारत र श्रीलङ्कामा हुँदै छ । खेल सुरु हुन् अब मात्र एक दिन बाँकी छ। भारत र श्रीलङ्का आयोजक रहेको यो सिजनको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्दै छ।
नेपालले सन् २०१४ मा बङ्गलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक भाग लिएको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष सङ्घर्ष गर्नुपरेको थियो ।
सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई परिचित बनाएको थियो । जहाँ नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।
विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेन । नेपाल लगातार दोस्रो पटक रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ । सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदै छन् ।
नेपालले फेब्रुअरी ८ अर्थात् आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । नेपाल विश्वकपमा समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् ।
पहिलो चुनौती इंग्ल्यान्ड
यो विश्वकपमा उपाधिका लागि २० राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन् । सहभागी नेपाल भने समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप खेल्दै छ।
सहभागी राष्ट्रलाई चारवटा समूहमा विभाजन गरिएको छ । एक समुहमा पाँच टोली रहेका छन् । प्रत्येक समूहका दुई शीर्ष टोली सुपर आठ चरणमा पुग्नेछन् । नेपाल समूह ‘सी’मा छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुई-दुईपटक विश्वकपको उपाधि उचालिसकेका छन् ।
नेपालले एसोसिएट राष्ट्र स्कटल्यान्ड र इटालीविरुद्ध खेल्नेछ । नेपालको टी-२० आई इतिहासमा इंग्ल्यान्ड र इटाली नयाँ प्रतिद्वन्द्वी हुन् । नेपालले वेस्ट इन्डिजविरुद्ध गत असोजमा युएईमा टी-२० आई सिरिज खेलिसकेको छ तर इंग्ल्यान्डसँग प्रतिस्पर्धा गरेको छैन ।
इंग्ल्यान्ड विश्व क्रिकेटकै पुरानो टोली हो । क्रिकेटको टी-२० फम्र्याटको सुरुवात नै इंग्ल्यान्डबाट भएको हो । त्यहाँको काउन्टी क्रिकेट विश्वमा प्रसिद्ध छ ।
क्रिकेटको टी-२० मा इंग्ल्यान्डको प्रदर्शन प्रशंसा योग्य छ । नेपालको प्रतिद्वन्द्वी इंग्ल्यान्डले आइसिसी टी-२० विश्वकप दुईपटक जितेको छ । सन् २०१० मा इंग्ल्यान्डले पहिलोपटक टी-२० विश्वकप जितेको हो । पाउल कालिउडको कप्तानीमा इंग्ल्यान्डले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।
इंग्ल्यान्डले दोस्रोपटक सन् २०२२ मा उपाधि उचालेको हो । इंग्ल्यान्डले फाइनलमा पाकिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो । इंग्ल्यान्ड अब तीनपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
अहिले इंग्ल्यान्डको कप्तानी युवा खेलाडी ह्यारी ब्रुकले गरिरहेका छन् । इंग्ल्यान्डको विश्वकप टोलीमा पूर्वकप्तान जोस बटलर, फिल साल्ट, बेन डकेट र विल ज्याक्सजस्ता खेलाडी छन् । फास्ट बलर जोफ्रा आर्चर उत्कृष्ट फर्ममा छन्। स्पिन बलिङमा इंग्ल्यान्ड आदिल राशिद छन् । नेपालले आइतबार इंल्यान्डविरुद्ध वानखडे रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।
वामअफमा नेपालको राम्रो प्रदर्शन
दुई वाम अप खेलमा यूएई र क्यानडासँग नेपालले राम्रो प्रदर्शन गरेको छ । यूएईविरुद्ध चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरेका थिए। आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रनको शानदार इनिङ खेल्दा दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५० रन बनाउँदा नटआउट रहे। उक्त खेलमा नेपाल सात विकेटले विजयी भयो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा मात्र तीन विकेट गुमाएर भेट्टाएको थियो ।
दोस्रो वाम अप खेलमा क्यानडामाथि नेपालले ६ विकेटको जित हात पार्दा ओपनर आशिफ शेखले शानदार अर्धशतक बनाए । १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी हुँदै चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि शेखले ५८ रन बनाउँदा सन्दीप जोराले ४४ र गुल्सन झाले ३१ रन थपे । यो ब्याटिङ शक्ति नेपालले आइतबार इंग्ल्यान्डसामू प्रस्तुत गर्नुपर्ने छ ।
कुन देशले कति पटक जितेका छन् टी-२० विश्वकप
भारत टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकपमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकप्को यो दशौँ सिजन हो ।
यस अघि सम्पन्न नौं विश्वकपमा सबैभन्दा बढी भारत, इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो । त्यस्तै भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो ।
त्यस्तै अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तानले एक एक पटक टी-२० विश्वकप जितेका छन् । अस्ट्रेलियाले २०२१ मा। श्रीलङ्काले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो । त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन् ।
न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९, २०१४ मा सेमिफाइनल र २०२४ मा फाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बङ्गलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् । त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।
