पूर्व सैनिकसहित दुई जना पक्राउ
काठमाडौं। कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भइ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भइ शेषमती नै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका मध्ये परियार पूर्वआर्मी हुन् । उनी नेपाली सेनाको अन्य दर्जा (परिचर)का पूर्वकर्मचारी रहेको एक अनुसन्धान अधिकृतले बताए।
बिना बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ३० ग्राम बराबरको बिना बरामद भएको छ। पक्राउ परेका अर्का व्यक्ति चन्द दुई मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले बताएको छ।
१७ मंसिर २०७५ मा प्रहरी वृत्त बालाजुबाट डाँका चोरी मुद्दा दर्ता भएकोमा उनी फरार थिए। त्यस्तै १७ वैशाख २०८१ मा प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुरको मुद्दा दायर भएकोमा त्यो मुद्दामा पनि उनी फरार थिए।
